जय भिमसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आ.व. २०८१।८२ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
साउन ३१, २०८२, शनिबार | दिउँसो ०२:३५ बजे | 285
शनिबारका दिन जय भिमसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आ.व. २०८१।८२ को वार्षिक समीक्षा कार्यक्रम संस्थाका अध्यक्ष श्री दश बहादुर मानन्दर ज्यूको सभापतित्वमा भक्तपुरको गोलमढीमा रहेको किवाननी रेष्टुरेण्टमा सम्पन्न भयो। हालको सहकारी क्षेत्रमा देखिएको समस्याका कारणले यस सहकारीको नाफामा केही असर देखिएता पनि सहकारी अबका दिनमा सोको पूर्तिका लागि सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा शेयर सदस्यहरूको सरसल्लाह बमोजिम नयाँ योजनाका साथ सहकारीलाई अगाडि बढ्ने अध्यक्ष मानन्धरज्यूले बताउनुभयो । केही नाफामुखी निजी क्षेत्रबाट सञ्चालित सहकारीहरूको कारणले गर्दा समग्र सहकारी क्षेत्रको साख गुम्दै गएको समेत उहाँले बताउनुभयो। उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं शिक्षा उपसमितिका संयोजक श्री रत्नबहादुर शिल्पकारज्यूले संस्थालाई सबै सदस्य मिलेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिँदै स्वागत मन्तब्य ब्यक्त गर्नुभयो। उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष बिकुनारायण कवां ज्यूले आर्थिक प्रतिवेदन पेश गर्नुभयो भने संस्थाका सचिव श्री सुरज कवांज्यूले संस्थाको वार्षिक क्रियाकलाप एवं आगामी आ.व. २०८२।८३ का लागि वार्षिक कार्यक्रमहरू प्रस्तुत गर्नुभयो। विगतका कमी कमजोरीहरुलाई हटाई संस्थाले थप ऋण लगानी तर्फ विशेष जोड दिनुपर्ने तथा राम्रो लगानीबाट मात्रै संस्थाले मुनाफा हासिल गर्न सकिने कुरामा जोड दिनुहुँदै लेखा सुपरिवेक्षण समितिका संयोजक श्री बुद्धराम शिल्पकारज्यूले आफ्नो मन्तव्य राख्नुभयो भने सामुहिक लगानीबाट जोखिम न्यूनिकरण हुने भएकोले संस्थाले अब सामुहिक लगानीमा जोड दिनुपर्ने निवर्तमान अध्यक्ष श्री रामकाजी शिल्पकारज्यूले बताउनुभयो। साथै एउटै किसिमको फूल भएको बगैँचाभन्दा फरक फरक किसिमको फूल भएको बगैंचा राम्रो हुने भएकोले संस्थाको विकासका लागि पनि फरक फरक व्यवसाय तथा पेशा भएका सदस्यहरूको संलग्नता भएमा अझ राम्रो हुने कुरामा जोड दिनुहुँदै संस्थाका सल्लाहकार श्री पुरूषोतम ग्वाच्छाज्यूले गहन अध्ययन गरी मात्रै लगानी गर्नुपर्ने बताउनुभयो। साथै देशको अधिकांस सहकारीहरूले सदस्यहरूको बचत फिर्ता गर्न नसकि सञ्चालकहरू फरार भैरहेको समयमा यस संस्थाले निक्षेप सङ्कलनमा उल्लेखनीय वृद्धि भएको सूचाङ्कले पनि यस सहकारीप्रति सदस्यहरूको विश्वास अटुट रहेको संकेट गर्दै संस्थामा रहेको तरलतालाई उचित व्यवस्थापन गर्नका लागि समेत नयाँ कदम चाल्नुपर्ने संस्थाका सदस्य श्री दिनेश सुवालज्यूले बताउनुभयो
