एभरेस्ट स्कुलमा मौलिक  गाईजात्रा [२०८२]


साउन ३०, २०८२, शुक्रबार | दिउँसो ०२:५३ बजे | 135


एभरेस्ट स्कुलमा मौलिक  गाईजात्रा [२०८२]

३० श्रावण , भक्तपुर
भक्तपुर–२, मिबाछेंस्थित एभरेस्ट स्कुल आज बिहानैदेखि गाईजात्राको रङ्गीन रौनकमा रमेको देखिन्थ्यो। विद्यालयको प्रांगण र वरिपरि सिँगारिएका ध्वजा पतका ,फूलमालाले सजिएको ताहामचा  र परम्परागत बाजागाजाको तालमा नाचेका विद्यार्थीहरूले वातावरणलाई उत्सवमय बनाइदिएका थिए। नेवार समुदायले दिवंगत आफन्तको सम्झनामा मनाउने धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको यो पर्व देशभरका नेवार बस्तीहरूमा विधिपूर्वक सम्पन्न भइसकेको बेला पनि, एभरेस्ट स्कुलमा भने उत्साह र उल्लास घटेको थिएन। बरु, यहाँको गाईजात्राले सांस्कृतिक एकताको एक अद्वितीय दृश्य प्रस्तुत गरिरहेको थियो।

कक्षा ६, ७ र ८ का विद्यार्थीहरू परम्परागत नेवारी पोशाक, रंगीन मुखौटा र विविध सांस्कृतिक प्रतीकहरूले सजिएर शोभायात्रामा अगाडि थिए। उनीहरूको लयबद्ध पाइला, मुस्कान र जोशपूर्ण सहभागिताले दर्शकको मन जितिरहेको थियो। अन्य कक्षाका विद्यार्थीहरू भने दर्शकको रूपमा उभिएर ताली र उत्साहजनक उपस्थितिसाथ रमाइरहेकाका थिए। यस दिन विद्यालयमा नेवार समुदायका मात्र नभई ब्राम्हण, क्षेत्री, तामाङ, गुरुङ, इस्लाम समुदाय र तराई मूलका विद्यार्थीहरूको समान उत्साहपूर्वक सहभागिताले “एक विद्यालय, अनेक संस्कृति” को भाव स्पष्ट रूपमा झल्किएको थियो।

उक्त कार्यक्रममा विद्यालय परिसरमा छोटो सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो, जसमा गाईजात्राको उत्पत्ति, यसको धार्मिक र सामाजिक महत्त्व, र यसले ल्याउने सहिष्णुता र एकताको सन्देशबारे विद्यार्थीहरूले विभिन्न मौलिक प्रस्तुतीहरु दिएका  थिए। अभिभावक, शिक्षक र स्थानीय बासिन्दाहरूले समेत उत्सुकतापूर्वक यो कार्यक्रम अवलोकन गरे।

विद्यालयले यो पर्व किन मनायो भन्ने जिज्ञासामा, संस्थापक प्रिन्सिपल श्री भक्त राज भण्डारीले स्पष्ट पार्दै भन्नुभयो “स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ अन्तर्गत हामी विद्यार्थीलाई केवल किताबका पाना सीमित ज्ञान होइन, व्यवहारिक अनुभव पनि दिन चाहन्छौं। गाईजात्रा पर्वमात्र होइन कृष्ण जन्माष्टमी, बुवाको मुख हेर्ने, म्ह: पूजा, तिहार, माघी जस्ता पर्वहरू विद्यालय तहमै सामूहिक रूपमा मनाउँदै आएका छौँ। यसले धार्मिक सहिष्णुता, संस्कृतिप्रति सम्मान र समुदायबीचको समझदारीको भावना बलियो हुन्छ।”

संस्थापक प्रिन्सिपलले अझ जोड दिँदै भन्नुभयो “साँच्चिकै असल नागरिक बन्न, फरक–फरक संस्कृतिप्रति सम्मान राख्न र राष्ट्रिय एकतालाई मजबुत बनाउन यस्ता साझा उत्सवको अभ्यास अपरिहार्य छ। यसले विद्यार्थीहरूलाई पुस्तौँदेखि चलिआएका परम्परासँग नजिक मात्र ल्याउँदैन, भविष्यमा विविधताको सम्मान गर्ने जिम्मेवार नागरिकका रूपमा तयार गर्छ।”

कार्यक्रमको समापन विद्यालयको परिसरमा सामूहिक तस्बिर खिच्दै गरिएको थियो। जसमा विद्यार्थी, शिक्षक र अभिभावकहरू स्थानीय जनसमुदायको मधुर मुस्कान देखिन्थ्यो।उत्सवको रमाइलोपनले पछिसम्म पनि वातावरणमा घुलमिल भईरहेको पतीत हुन्थ्यो। 

 

Comments