एभरेष्ट स्कुलमा नमुना संयुक्त राष्ट्रसंघ महासभा : विद्यार्थीमा अन्तर्राष्ट्रिय कूटनीतिक सीपको अभ्यास


साउन २६, २०८२, सोमबार | साँझ ०४:३७ बजे | 275


एभरेष्ट स्कुलमा नमुना संयुक्त राष्ट्रसंघ महासभा : विद्यार्थीमा अन्तर्राष्ट्रिय कूटनीतिक सीपको अभ्यास

भक्तपुर
एभरेष्ट स्कुल, ब्यासी, भक्तपुरमा आज नमुना संयुक्त राष्ट्रसंघ महासभा भव्य र शालीन वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न देशका प्रतिनिधिका भूमिकामा अवतरित भएका विद्यार्थीहरूले वास्तविक कूटनीतिक सभाको वातावरणको प्रत्यक्ष अनुभव गर्दै, अन्तर्राष्ट्रिय बहस–संवाद, प्रस्तुतिकरण र सभ्य आचरणको अभ्यास गरेका छन्।

उद्घाटन सत्रमा संयुक्त राष्ट्रसंघका उच्चपदाधिकारीको भूमिका निर्वाह गरेका व्यक्तित्व तथा विद्यार्थी वक्ताहरूले उपस्थित प्रतिनिधिहरूलाई विभिन्न आठ समिति मार्फत महत्त्वपूर्ण देशका जल्दा बल्दा र विषयवस्तु प्रस्तुत गर्न औपचारिक आह्वान गरे। कार्यक्रममा कुल १८५ जना प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।

यो महासभा संयुक्त राष्ट्रसंघको स्थायी मुख्यालय जेनेभामा नभई एभरेष्ट स्कुलको सभाहलमा आयोजना गरिएको हो, जसले यसलाई विशेष र अध्ययनको आधार बनाएको छ। 

कार्यक्रमका प्रमुख अतिथिमा राष्ट्रिय गानका सर्जक प्रदीप कुमार राई ‘व्याकुल माईला’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी तथा कमलादेवी अमात्य राजभण्डारी, साथै विद्यालयका कार्यकारी प्रमुख प्रवेश राजभण्डारीको उपस्थिति उल्लेखनीय रह्यो।

उद्घाटन सत्रमा मन्तव्य राख्दै संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले, विद्यार्थीलाई भोलिका दिनमा देशको प्रतिनिधित्व गर्दै सभ्य, शिष्ट र मर्यादित ढंगले विश्व समुदायको आफ्ना कुराहरू  कुटनीतिक ढंगबाट राख्न सक्ने  सीप विकास गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो। साथै विद्यार्थीहरुले संयुक्त राष्ट्रसंघको महासभाको प्रक्रिया, प्राथमिकता र घोषणा  बारेमा जानकारी प्राप्त गर्ने बताउनु भयो। 

यस्ता कार्यक्रमहरूले विद्यार्थीमा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी सञ्चार, कूटनीतिक व्यवहार, बहस–संवाद कला र नेतृत्व क्षमताको विकासमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ।

 

Comments