द्योछेंमा यसरी भित्राइयो खम्येः पहिलो पटक उपत्यका बाहिरकाबासीले चढाउन पाए
साउन १२, २०८२, सोमबार | राति ०९:५० बजे | 235
भक्तपुर । भक्तपुरको प्रसिद्ध नवदुर्गा द्योछें (देवता घर)मा महिषासुरको प्रतीक मानिने खम्ये (ठूलो राँगो) सोमबार भित्राइएको छ । भक्तपुरको कमलविनायक गछेंस्थित द्योछेंमा विजया दशमीका लागि आवश्यक महिषासुरको प्रतीक मानिने खम्ये भित्याइएको हो । खम्ये भित्राइएको यो मन्दिरमा प्रत्येक वर्ष विजया दशमीको दिन राष्ट्रप्रमुख (राष्टपति) दर्शनका लागि आउने चलन छ ।
महिषासुरको प्रतीक खम्ये नौरथाको नवमी कालरात्रीमा वध गरिन्छ । यसअघि नवमीमा द्योछेंबाट नगरभरि राँंगोलाई दौडाई जात्रा गरिन्छ । नगर परिक्रमापछि नगरको पूर्वस्थित ब्रम्हायणीमा लगेर राति राँगो वध गरिन्छ । यसलाई स्थानीय नेपालभाषामा खम्ये जात्रा भनिन्छ ।
दौडाउनु अघि राँंगालाई रक्सी खुवाएर मातन लगाइन्छ । मातेको राँगोलाई हुलहुजतकासाथ दौडाएर लगिन्छ । यो क्रममा बाटोभरि हजारौं नगरबासी दुवै छेउमा बसेर जात्रा हेर्ने गर्छन् ।
नवमीको राति ब्रम्हायणीमा राँगाको वध गरेपछि भोलिपल्ट विजया दशमीका दिन त्यहाँ ठूलो मेला लाग्छ । मेला भर्न दसौं हजार श्रद्धालु ब्रम्हायणी पुग्छन् । दशमीमा मेला भर्न ब्रम्हायणीमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत छिमेकी जिल्लावासी त्यहाँ पुग्छन् । राँगाको मासु जात्रामा विभिन्न जिम्मेवारी वहन गर्ने कसाइदेखि नवदुर्गाको मखुन्डो बनाउने चित्रकारसम्म सबैलाई बाँडिन्छ ।
नवदुर्गा गणका नाइके विज्रेस बनमालाले भित्रिएको महिषासुररुपी राँगो नवमीसम्म द्योछेंमै पालेर राखिने जनाए । राँंगोलाई प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि नागपञ्चमीकोवीचमा भित्राइन्छ ।
भित्राइएको राँंगो व्यक्तिले पैसा हालिदिएर भित्राइन्छ । यसवर्ष खोटाङको चुइचुम्मा गाउँपालिका घर भइ हाल ललितपुरमा बसोबास गर्दै आएका अरुण राइले खम्ये चढाएका हुन् । उनले बनेपा नगरपालिका–३ का देवीप्रसाद ढुंगेलले ३ वर्ष पालनपोषण गरेको खम्ये एक लाख २० हजार रुपैयाँमा किनेर ल्याएको जानकारी दिए । अब आउने दुई वर्षको लागि पनि खम्ये उनले नै पाल्ने भएको देवीप्रसादले जानकारी गराए । अघिल्लो वर्षको खम्ये पनि उनले नै पालेका थिए ।
यसरी महिषासुरको प्रतीकका रुपमा खम्ये जात्राका लागि मन्दिरमा चढाउने राँगो ठूलो र निख्खर कालो हुनुपर्छ । यसका लागि सधैं तलेजु मन्दिरका पदाधिकारीको संलग्नतामा विभिन्न ठाउँमा भनेजस्तो राँगो खोजिन्छ र आवश्यक पैसा इच्छाएको व्यक्तिले राखिदिने चलन छ ।
भगवानलाई चढाएपछि पुण्य पाइने भएकाले भाकल गरी भक्तालुले एक लाख बढी पैसा तिरेर राँंगो चढाइदिने चलन छ । वर्षेनी यसैगरी श्रद्धालु भक्तजनले खम्ये जात्राका लागि राँगो दिने गरेका छन् । प्रत्येक वर्ष राँगो किनेर नवदुर्गा मन्दिरमा चढाउन प्रतिस्पर्धाजस्तै हुन्छ ।
