लायन्स क्लब र ॐ समाज डेण्टलको सहकार्यमा शिवपुरी माविमा भव्य दन्त सिविर
साउन १०, २०८२, शनिबार | विहान ११:५४ बजे | 90
१३६३ विद्यार्थी र ५० बढी शिक्षक–अभिभावक लाभान्वित, पूर्वविद्यार्थीकाे नेतृत्वमा सेवा प्रदान काठमाडौं, राजन थापा साउन ०९ “स्वस्थ विद्यार्थी, सक्षम समाज” भन्ने नारालाई मूर्तरूप दिने उद्देश्यसहित लायन्स क्लब अफ बालकुमारी साङ्ला र ॐ समाज डेण्टल अस्पताल, बनस्थली शाखाको संयुक्त आयोजनामा शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्जमा एकदिवसीय निःशुल्क दन्त स्वास्थ्य सिविर सम्पन्न भएको छ। सिविरमार्फत १३६३ विद्यार्थी तथा ५० भन्दा बढी शिक्षक र अभिभावकहरूले दन्त परीक्षण सेवा प्राप्त गरेका छन्। परीक्षणका क्रममा २०० भन्दा बढीमा उपचारयोग्य समस्या पहिचान भई अस्पतालमा थप उपचार सिफारिस गरिएको आयोजकहरूले जनाएका छन्। सिविरको नेतृत्व ॐ समाज डेण्टल बनस्थली शाखाकी प्रमुख सबिना पपन गुरुङले गरेकी थिइन्, जो यही विद्यालयकी पूर्वविद्यार्थी समेत हुन्। उनले भनिन्: “मैले पढेको यही स्कूलमा आज अस्पतालको प्रतिनिधित्व गर्दै सेवा दिन पाउँदा गर्वको अनुभूति भएको छ। यो मेरो जीवनकै महत्वपूर्ण योगदानमध्ये एक हो।” विद्यालयका प्रधानाध्यापक प्रकाश सुवेदीले यस अवसरमा विद्यालयको गौरवपूर्ण क्षणको स्मरण गर्दै भने: “हामीले सिकाएका विद्यार्थीहरू समाजमा जिम्मेवार बनेर फर्किएका छन्। आजको सेवा त्यसको प्रमाण हो।” कार्यक्रममा शिक्षक तथा लायन्स क्लब सदस्य दिप कुमार बुढाथोकीले समाजसेवाको महत्वलाई यसरी व्याख्या गरे: “आजको सिविर केवल स्वास्थ्य सेवा मात्र होइन, यो समाजप्रतिको बहुआयामिक सामाजिक जागरणको शुरुवात हो।” लायन्स क्लब अफ बालकुमारी साङ्लाका अध्यक्ष बिकाश राज कुँवर, सचिव राज कुँवर, लायन सदस्य सैलेस थापा, सुधिर थापा, दिप कुमार बुढाथोकी ,राजन थापा लगायत क्लबका अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अध्यक्ष बिकाश कुँवर, जो स्वयं पनि यस विद्यालयका पूर्वविद्यार्थी हुन्,ले भने: “आज आफ्नै भाइबहिनीलाई सेवा दिन पाउँदा निकै आत्मसन्तोष मिल्यो। लायन्स क्लबको लक्ष्य नै यस्तो सामाजिक सेवामा अग्रसर हुनु हो।” सिविरमा सहभागी चिकित्सक तथा सहायकहरू डा. वर्षा कार्की डा. श्वेजा कार्की डा. आशिका न्यौपाने सावित्रा निरौला (सहायक) दुर्गा न्यौपाने (सहायक) साउन १ गतेदेखि ॐ समाज डेण्टलले देशभर आयोजना गर्दै आएको विशेष तीन सिविरहरूमध्ये यो विद्यालय सिविर एक हो। अन्य दुई सिविरहरू पशुपतिनाथ मन्दिर परिसरमा भक्तजन लक्षित सेवा सिविर र लमजुङमा समुदाय–केन्द्रित सेवा सिविर हुन्। यस संयुक्त अभियानले शिक्षा र स्वास्थ्यको समन्वय मात्र होइन, पूर्वविद्यार्थीको जिम्मेवारीबोध र सामाजिक उत्तरदायित्वको अनुपम उदाहरण पनि प्रस्तुत गरेको छ।