भक्तपुरमा पेभौ पेभौ पेभौ....


साउन ७, २०८२, बुधबार | साँझ ०६:४१ बजे | 500


भक्तपुरमा पेभौ पेभौ पेभौ....

भक्तपुर । नास्तिक गठामगलाई दाहसंस्कार गरी बुधबार भक्तपुरमा गठामग चह्रे (घण्टाकर्ण पर्व) मनाइएको छ । विशेष गरे भक्तपुर नगरका टोलटोलमा छुटाछुटै रुपमा यो पर्व मनाइएको हो । प्रत्येक वर्ष साउन शुल्क चतुर्दशीका दिन काठमाडौं उपत्यकासहितका नेवार समुदाय रहेको देशभरका वस्तीमा यो चह्रे यसरी नै मनाइन्छ ।
काठमाडौं उपत्यकामा मनाइनेमध्ये भक्तपुरमा मनाइने पर्व विशेष आकर्षक छ । त्यहाँ टोलटोलमा नर्कट, छ्वाली, नागलो, हाँंडीलगायतबाट आफैं उभिन सक्ने गरी तीन खुटा भएको मानवरुपी गठामग बनाइन्छ । नर्कटबाट छ्वालीले बेरेर उभिनसक्ने कलात्मक मानवरुपी गठामग टोलटोलमा साँंझ बनाइन्छ । नागलोमा मुख, नाक, कान लेखिन्छ । हाडीको टाउको बनाइन्छ । यसरी टोलटोलमा बनाइएको गठामगलाई टोलबासी नै मिलेर नजिकको दोवाटोमा लगेर जलाइन्छ । यस क्रममा दुई चार जनाले गठामगलाई बोकेर बाँंकी बालबालिकादेखि बृद्धबृद्धासम्म छ्वाली बालेर दाहसंस्कार गर्न जाने परम्परा छ ।

दाहसंस्कारबाट फर्किदा बाटोमा पर्ने धारा, ढुंगेधारा, कुवा, पोखरी, इनार आदिमा पुगी चोखिने चलन यद्यपि छ । फर्केपछि दाहसंस्कारमा सहभागी फर्केर आआफनो घरमा छ्वाली बालेर धुवाले घरलाई सेक्ने चलन छ । साथै आआफनो घरको ढोकामा किला ठोक्ने पनि गरेर सम्हे बजी (भोज) खाने चलन छ ।  

चह्रे यौनसँंग पनि सम्वन्धित छ । गठेमग बनाउँंदा यौन अंग (गुप्तांग) लाई विशेष प्राथमिकतामा राखी बनाइन्छ । लामो नर्कटलाई परालबाट बनाइएको डोरीले बेरेर त्यसको तल दुई वटा भोगटे राखी पुरुष योन अंग (लिंग) राखेर गठामग बनाइन्छ । साथै दाहसंस्कार गर्न जाँंदा पनि बाटोभरि अश्लिल भाका लगाउँंदै जाने परम्परा यद्यपि छ । यसलाई नेपाल भाषामा भ कायगू (नारा लगाउने) भनिन्छ । यसकारण यो पर्वमा महिलाहरु सहभागी हुने गर्दैनन् । पर्वका क्रममा अश्लिल नारा लगाउने भएकाले महिलाहरु सहभागी नहुने बताइन्छ । यही कारण अरुअरु सवै जात्रापर्वमा महिलाहरु सहभागी भए पनि अहिलेसम्म पनि यो पर्वमा महिला सहभागी भएका देखिंदैनन् ।   

कला, संस्कति तथा भजन महागुथि भक्तपुरका संस्थापक अध्यक्ष डा इन्दुल केसीका अनुसार टोलटोलमा बनाएर दाहसंस्कार गर्न लगिने यो गठामोग राक्षस नभई घण्टासुर नामको एकजना नास्तिक हो । जिउभरि घण्टा झुण्डाएर बस्ने भएकाले उनको नाम घण्टासुर रहेको उनी प्रष्ट्याउँछन् ।

संस्कृतिविद् डा केसीका अनुसार चोक दोवाटोमा बसेर बालबालिकालाई मारेर खाने घण्टाकर्णलाई टोलबासी मिलेर मारेर दाहसंस्कार गरेको रुपमा पर्व मनाइँंदै आएको छ । परापूर्वकालमा रोपाई सकेर यौन शिक्षा दिने क्रमसँंग जोडिएको पर्व यौनसँग जोडिएको उनी सुनाउँंछन् ।

Comments