मध्यपुर थिमिमा गुला बाजा परिक्रमा साउन ९ देखि 


साउन १, २०८२, बिहीबार | साँझ ०५:२८ बजे | 575


मध्यपुर थिमिमा गुला बाजा परिक्रमा साउन ९ देखि 

सागर गुरागाईं
मध्यपुर थिमि – मध्यपुर थिमिको ऐतिहासिक एवं परम्परागत गुँला बाजा परिक्रमा साउन ९ गते शुक्रबारदेखि सुरु हुने भएको छ । मध्यपुर थिमि नपा ५ कुम्हाननी=तुलंननी स्थित श्री गणेश सांस्कृतिक समाजद्धारा आयोजित गुँलाबाजा परिक्रमा सम्बन्धी जानकारीमूलक कार्यक्रममा उक्त जानकारी दिइएको छ । श्री गणेश सांस्कृतिक समाजका अध्यक्ष विजय प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सय वर्ष भन्दा पुरानो इतिहास बोकेको मध्यपुर थिमिको ऐतिहासिक गुँला बाजा मध्यपुर थिमिको मौलिक पहिचान भएकोले यसको विकास, विस्तार, संरक्षण र निरन्तरतामा खटिनु भएका मथिनपाका प्रजापति समुदायप्रति उच्च सम्मान व्यक्त गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । नगरप्रमुख श्रेष्ठले मथिनपा भित्रका मूर्तअमूर्त कलासंस्कृति, सम्पदा आदिको संरक्षणमा नगरपालिका सदैव सहयोगी बनिरहेको बताउनु भयो । कार्यक्रमका विशेष अतिथि मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले कला संस्कृति र सम्पदाको संरक्षण, विकास र विस्तारमा मथिनपा सदैव सहयोगी रहेको चर्चा गर्दै गुँला बाजा आयोजक समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण मन्द्यो श्रेष्ठले परम्परा, संस्कृति र सम्पदा संरक्षणमा वडाले सधैं सहयोग गर्ने बताउनु भयो । 
कार्यक्रमका सभापति विजय प्रजापतिले साउन ९ गतेदेखि सुरु हुने ऐतिहासिक मध्यपुर थिमि गुँला बाजा नगरपरिक्रमा सम्बन्धी मिति, स्थान र समय बुँदागत रुपमा जानकारी दिदैं हाम्रो कला, संस्कृति, संस्कार र परम्परा मौलिक पहिचान भएकोले यसको संरक्षण गर्दै युवा पुस्तालाई यसबारे जानकारी गराउनु जरुरी रहेको बताउनु भयो । रत्नहरि प्रजापतिले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा गुँला बाजाका गुरुहरु मध्ये मोहनकृष्ण प्रजापतिले गुँला बाजाको इतिहास, उद्देश्य, महत्व र परिचय सहित आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा धाँ बाजा हस्तान्तरण एवं प्रशिक्षार्थीहरुबाट धाँ बाजा प्रदर्शन पनि गरिएको थियो । श्री गणेश सांस्कृतिक समाजका उपाध्यक्ष राजकुमार प्रजापतिले स्वागत मन्तव्य र कोषाध्यक्ष वीरकृष्ण प्रजापतिले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त जानकारीमूलक कार्यक्रम मध्यपुर थिमि नपा ५ कुम्हाननी टोलमा भएको थियो । कार्यक्रममा गुँला बाजाका गुरुहरु, जनप्रतिनिधि, सञ्चारकर्मी एवं स्थानीय बासिन्दाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय समाजसेवीहरु तेजकुमार कुन्छे प्रजापति, प्रेम बहादुर प्रजापति लगायतले गुँला बाजा नगरपरिक्रमाको लागि आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । 


 

Comments

ताजा खबर