रानीपोखरीको लेउ र झ्याउ हटाई चिटिक्क बनाउँदै महानगरपालिका
- Post Date 2021-01-18 21:06:37

काठमाडौँ । पुनर्निर्माणपछि चिटिक्क परेको रानीपोखरी हरियो लेउ र झ्याउले ढाकिएर कुरुप बन्न थालेपछि काठमाडौँ महानगरपालिकाले पोखरीको सौन्दर्यता बढाउन सरसफाई थालेको छ ।
महानगरपालिकाले दैनिक नगर प्रहरीलाई खटाएर त्यहाँको हरियो लेउ र झ्याउ हटाउने र पोखरीको प्राकृतिक सौन्दर्यता बढाउने काम गरिरहेको महानगरपालिकाले जानकारी दिएको छ । ‘राजधानीको केन्द्रमा रहेको पोखरी शुद्धीकरणको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायहरुसँग हामीले छलफल गरिरहेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो, ‘पुनर्निमाण प्राधिकरणबाट हामीलाई रानीपोखरी पुर्ननिर्माणपछि हस्तान्तरण भैसकेको अवस्था छैन । यद्यपि, पोखरी हाम्रै क्षेत्राधिकार भित्र पर्ने भएकाले हामीले शुद्धीकरणको प्रयास गरेका हौँ ।’

काठमाडौँ महानगरका प्रहरी प्रमुख धनपती सापकोटाले पनि दैनिक २० बढी नगरप्रहरी खटाएर उनीहरुकै सहयोगमा पोखरीको लेउ र झ्याउ हटाउने काम गरिरहेको जानकारी दिनुभयो । ‘दुई दिन लगाएर करीब ५० जना नगर प्रहरीको सहायतामा पोखरीको झण्डै आठ पिटपर जति लेउ र झ्याउ झिक्ने काम भएको छ ।’
उहाँले प्राधिकरणसँग लेउ मार्ने विषादी प्रयोग गर्ने लगायतका विकल्पका बारेमा छलफल भैरहेको जानकारी दिनुभयो । अहिले पोखरीमा पानीको मात्रा घट्दै गएकाले थप समस्या भएको भन्दै पोखरीमा पानी भर्ने विषयमा पनि छलफल भैरहेको सापकोटाले जानकारी दिनुभयो ।
प्राधिकरणका इन्जिनियर राजुमान मानन्धर पनि पानी शुद्धीकरणका लागि विभिन्न विकल्पमाथि छलफल भैरहेको भन्दै काठमाडौँ महानगरपालिकाले सरसफाइका लागि गरेको प्रयास सकारात्मक भएको जानकारी दिनुभयो । ‘अहिलेसम्म काठमाडौँ महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण भएको अवस्था छैन,’ मानन्धरले भन्नुभयो, ‘यो अवस्थामा काठमाडौँ महानगरपालिकाले सफा गर्ने असल उदेश्यले गरेको कार्य सकारात्मक छ ।’
प्राधिकरणले पनि त्यहाँको लेउ दीर्घकालिन रुपमा हाटाउने र पोखरीलाई सफा बनाउने उपायको खोजी गरिरहेको सन्र्दभमा महानगरपालिकाले गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उहाँले बताउनुभयो ।
पानी शुद्धीकरणमा विभिन्न विकल्पमाथि छलफल गरिरहेको भन्दै उहाँले पानी पम्पिङ गर्ने लगायतका बारेमा पनि सोचिरहेको जानकारी दिनुभयो । ‘अहिले महानगरपालिकाले अस्थायी रुपमा जे गरिहेको छ । त्यो सकारात्मक छ । तत्काल सफा नगर्ने हो भने पोखरीको सबै पानी दुर्घन्दित हुने खतरा बढी हुन्छ । पानी पम्पिङ गर्दा पानीमा पर्याप्त अक्सिजन मिसिएर घुल्न पाउँछ । यसका कारण लेउ उम्रन पनि पाउँदैन । यो विषयमा पनि हामी सोचिरहेका छौँ’ उहाँले भन्नुभयो, ‘लेउ खाने जातीका माछा हालेर पनि रानीपोखरीलाई सफा र सुन्दर राख्न र पोखरीको सौदर्य बढाउन सकिन्छ भन्ने विकल्पमा पनि छौँ ।’
उहाँले यस अघि महानगरपालिकाकै सहकार्यमा रानीपोखरीमा पानी भर्ने काम भएको भन्दै अहिले पानीको लेवल घटेको जानकारी दिनुभयो । ‘हामीले सुरुमा पाँच फिट २ इन्च पानी पोखरीमा भरेका थियौँ । अहिले पोखरीमा पानीको लेवल कम भएको छ । त्यहाँ करीब तीन फिट जति मात्रै पानी छ,’ उहाँले भन्नुभयो, ‘तीन करोड २२ लाख लिटर जति पानी हामीले पोखरीमा भरेका थियौँ । अहिले करीब २ करोड लिटरको हाराहारीमा पानी रहेको अनुमान गरेका छौँ ।’ पोखरीमा पानी भर्ने सन्दर्भमा पनि महानगरपालिकासँग छलफल भएको र केही दिन भित्रमै पोखरीमा पानी टनाटन भरिने जानकारी दिनुभयो ।
...
All Comments.......
Please Login/Register To Comments