शारीरिक एवं मानसिक स्वास्थ्यका लागि नियमित योगाभ्यासः उपमेयर श्रेष्ठ
असार २९, २०८२, आइतबार | राति ०७:०५ बजे | 160
सागर गुरागाईं
मध्यपुर थिमि – मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठले शारीरिक एवं मानसिक स्फूर्ति र स्वास्थ्यका लागि नियमित योगाभ्यास जरुरी रहेको बताउनु भएको छ । बालकुमारी योग साधना केन्द्रद्धारा आयोजित योग स्मारिक २०८२ को विमोचन गर्दै उपमेयर श्रेष्ठले उक्त विचार व्यक्त गर्नुभएको हो ।
बालकुमारी योग साधना केन्द्रकी संयोजक पूर्णकेशरी श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि उपमेयर श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारीदेखि विकास निर्माणका कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिदैँ स्वास्थ्य सबै व्यक्तिको मुख्य सरोकारको विषय रहेको बताउनु भयो । कार्यक्रममा पतञ्जली योग समिति बागमती प्रदेशकी योगसहप्रभारी कविता थपलिया, पतञ्जली योग समिति भक्तपुरकी महिला अध्यक्ष सुनिता श्रेष्ठले योगाभ्यास र प्राणायामको उद्देश्य र महत्वसहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मध्यपुर नगर योग समितिका अध्यक्ष तुल्सीकृष्ण श्रेष्ठले नगरक्षेत्र भित्र पतञ्जली योग समितिद्धारा १९ वटा योग साधना केन्द्रहरु संचालित रहेको जानकारी दिदैँ सामुहिक रुपमा योगसाधना गर्न योगीजनहरुलाई स्थानका अभाव भएकोले मध्यपुर थिमि नगरपालिकाले कुनैपनि सार्वजनिक जग्गाहरुमा अस्थाई संरचना निर्माण गरेर भएपनि योगाभ्यास गर्ने स्थान तयार गर्न सहजिकरणका लागि आग्रह गर्नुभयो । नगरअध्यक्ष श्रेष्ठले अहिले विभिन्न पार्टी प्यालेस र विद्यालयहरुले योगाभ्यास गर्ने स्थान उपलब्ध गराईरहेकोमा धन्यवाद ज्ञापन गर्दै शारीरिक तन्दुरुस्ती एवं मानसिक स्फुर्तिका लागि प्रत्येक व्यक्तिलाई नियमित योगाभ्यास जरुरी रहेको तर्क गर्नुभयो । कार्यक्रममा पतञ्जली योगसमिति भक्तपुर नगरका अध्यक्ष पूर्णबहादुर मगर, सानुमाया मानन्धर, शंखधर बैंक्वेटका अध्यक्ष सत्यसुन्दर श्रेष्ठ, युवाप्रभारी विकास बज्राचार्य, तुईलाल भासिमा, सुस्मा श्रेष्ठ लगायतका साधकसाधिकाहरुले योगको महत्वसहित आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । शंखधर बैंक्वेटमा भएको उक्त योगस्मारिका विमोचन कार्यक्रममा साधक लक्ष्मीकृष्ण नापितले राष्ट्रिय गीत गाएर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । कार्यक्रमकी सभापति पूर्णकेशरी श्रेष्ठले योगस्मारिका भित्र समेटिएका लेख रचनाहरु सबैका लागि जानकारीमूलक, पठनीय र संग्रहणीय रहेको बताउनु भयो । विमोचित योगस्मारिका सबै साधकसाधिकाहरुलाई निशुल्क वितरण गरिएको थियो ।
