बुद्धशिक्षाको आधारभूत कक्षाको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम थथुबहीमा सम्पन्न
असार २८, २०८२, शनिबार | राति ०९:२२ बजे | 175
शनिबार मैत्रेय युवा संघद्वारा बैशाख २० गतेदेखि असार २१ गतेसम्म हरेक शनिबार आयोजित बुद्धशिक्षाको आधारभूत कक्षाको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम थथुबहीमा सम्पन्न भयो ।
संघका अध्यक्ष लक्ष्मीचन्द्र बज्राचार्यको सभापतित्वमा प्रमुख अतिथि अखिल नेपाल भिक्षु महासंघका सचिव श्रद्धेय भिक्षु निग्रोध महास्थविरले पञ्चशील प्रदान र दीप प्रज्ज्वलन गरी कार्यक्रम संचालन भएको थियो । लक्ष्मीचन्द्र बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघका सदस्य बबिता शाक्यले तालिमको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रशिक्षार्थीहरू अम्बिका न्याइच्याइ , निर्मला प्रजापति , शान्ता थापा , श्रीराम सुवाल , अनिता देशेमरु , उद्धव कोण्डा र तारा धमालाले तालिम अत्यन्तै लाभदायक रहेको र बुद्धशिक्षाको महत्व बारे ज्ञान हासिल गर्न पाएकोमा खुशी व्यक्त गर्दै आफूले आफ्नो जीवनमा लागु गर्ने र अरुलाई पनि प्रेरित गर्ने कुरा भन्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि निग्रोध भन्तेले बुद्ध , धर्म र संघको शरण जानुको अर्थ व्यक्त गर्दै सारगर्वित मन्तव्य ब्यक्त गर्नुभएको उक्त कार्यक्रममा अतिथि भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष एवं स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेंले बुद्धशिक्षा आजको युगमा अझ सान्दर्भिक रहेको र स्थानीय पाठ्यक्रममा नैतिक शिक्षाको रूपमा बुद्धशिक्षालाई राख्न पहल भई रहेको बारेमा मन्तव्य व्यक्त गर्नुभयो भने प्रशिक्षक बौद्ध विद्वान डा. त्रिरत्न मानन्धरले बुद्धशिक्षा र आधुनिक विज्ञानसंगको सामिप्यता बारेमा बोल्नुभयो ।
श्रद्धेय भिक्षु निग्रोध , श्रद्धेय ञाणवती गुरुमां र डा. त्रिरत्न मानन्धरले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा पुस्तक वितरण गर्नुभएको उक्त कार्यक्रममा उक्त तालिमका संयोजक तिर्थराज बज्राचार्यले प्रशिक्षकहरू तथा अतिथिहरूलाई बुद्धमूर्ति धर्मोपहार प्रदान गर्नुभएको थियो भने धन्यबाद ज्ञापन पनि गर्नुभएको थियो ।उक्त कार्यक्रम संघका सचिव संचित बुद्धाचार्यले संचालन गर्नुभएको थियो ।
यस तालिममा एभरेष्ट स्कुल , जेन्युइन स्कुल , प्रभात स्कुल , बासु मा.वि. , गणेश मा.वि. , बालबिकास स्कुल , सेकरिट हार्ट एकेडेमी , किकम्पा मन्टेश्वरीका शिक्षक-शिक्षिका तथा अन्य गरी २२ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो भने विभिन्न बौद्ध विद्वान तथा गुरुमांहरूबाट हरेक कक्षा छुट्टाछुट्टै विषयमा भएको थियो तथा तालिम पश्चात शैक्षिक भ्रमणको पनि आयोजना भएको थियो ।
