भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित 


असार २८, २०८२, शनिबार | राति ०७:३३ बजे | 95


भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित 

भक्तपुर । स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता नाराका साथ राष्ट्रिय खोप कार्यक्रम पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ अनुसार भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले गमलामा पानी हालेर भक्तपुर जिल्लालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता र दिगोपना कार्यक्रम २०८१ घोषणा गरेका हुन । 
कार्यक्रममा वागमती प्रदेशका सांसदहरु सुरेश श्रेष्ठ, धन्यश्वरी प्रजापति, भावना श्रेष्ठ, बागमती प्रदेशका स्वास्थ्य निर्देशक नरेन्द्रकुमार झा, डा. सुमित्रा गौतम सहितका अतिथिहरुले पूर्ण खोप सुनिश्चितता र दिगोपना अभियानबारे प्रकाश पारे । सो अवसरमा उनीहरुले प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरेका थिए । 
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख तथा जिल्ला ख्वप संयोजक ईश्वर थापाको सभाध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्का, खोप अधिकृत रुपा प्याठले पनि खोप अभियानबारे प्रकाश पारे । कार्यक्रमको अवसरमा भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका स्वास्थ्यकर्मी, स्वस्थ्य स्वयम्सेवक तथा सेविकाहरुलाई सम्मानित गरेको थियो ।
भक्तपुर जिल्लाका ३८ वडाहरु, त्योसँगै ४ वटा स्थानीय तहहरुलाई पूर्ण खोप सुनिश्चितता प्रदान गरिएको हो । जनस्वास्थ्य कार्यालय भक्तपुरले सिंगो जिल्लालाई नै खोप सुनिश्चितता र दिगोपना प्रदान गर्दै आएको छ । यसलाई जिल्ला खोप समन्वय समितिले हरेक वर्ष प्रमाणिकरण गर्दै सरोकारवालाहरुबाट समेत प्रतिबद्धता र एक्यवद्धता जाहेर हुँदै आएको छ ।
मुलुकका जुनसुकै ठाउँबाट वसाईसराई वा कामको सिलसिलामा भक्तपुर बसिआएका बालबालिका सहित जिल्लाका १५ महिना मुनीका सम्पूर्ण बालबालिकाहरुलार्ई आधारभूत खोपको सुनिश्चितता प्रदान गरेको छ । यस कार्यक्रमले विभिन्न रोगबाट बालबािलकाहरुको प्रतिरक्षा र बाल मृत्युदरमा समेत उल्लेख्य कमी ल्याई दीगो विकास लक्ष्यसँग पूर्ण खोप सुनिश्चिता र दीगोपना कार्यक्रम जोडिएको छ । यसका उपलब्धिहरूलाई आत्मसाथ गर्दै यसवर्ष १५ वर्षमुनिका बालिकाहरुका लागि दिन सुरु गरेको पाठ्यघरमा हुने क्यान्सर विरुद्धको आईपिभि खोप कार्यक्रमले पनि प्रभावकारीता पाएको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको पूर्ण खोप सुनिश्चितता र दिगोपना कार्यक्रम अन्तर्गत यो वर्ष पनि भक्तपुर जिल्लाका ४ वटा नगरपालिकाहरु भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमि नगरपालिका र चाँगुनारायण नगरपालिकाले विभिन्न मिति र समयमा आआफ्नो पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना कार्यक्रम सम्पन्न गरी पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिसकेका छन् । २०८१।८२ सालमा पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि स्थानीय तहबाट सम्पादन गरिएका कार्य तथा विवरण संकलन, परिक्षण गरी आज सिंगो जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणाको हामी अन्तिम तयारीमा छौं ।
पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ अनुसार जिल्लाका ४ वटै पालिकाहरुले २०८१ चैत्र १ गतेदेखि बैशाख ३१ २०८२ सम्ममा आआफ्नो पालिकाहरुमा घरधुरी सर्वेक्षण सम्पन्न गर्यो । सर्वेक्षणबाट प्राप्त बालबालिकाहरुको संख्या निश्चित गर्दा भक्तपुर नगरपालिकामा १५ महिना मुनिका ८०९ जना, १६ देखि २३ महिनाका ७२० जना बालबालिकाको पहिचान गरियो । यसैक्रममा सो नगरपालिकाले ७२० जना बालबालिकालाई पूर्ण खोप प्रदान गरी गत असार १६ गते पूर्ण खोप सुनिश्चित गरेर असार १९ गते पूर्ण खोप सुनिश्चितता घोषणा तथा दिगोपना कार्यक्रम सम्पन्न गर्यो भने मध्यपुर थिमी नगरपालिकाले पनि १५ महिना मुनीका १,३५५ जना, १६ देखि २३ महिनाका २,९१५ जनाको संख्या निश्चित गरी २,९०७ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरेर गत असार ८ गते पूर्ण खोप सुनिश्चित गर्यो र असार १६ गते मध्यपुर थिमी नगरपालिकामा आ.व. २०८१।८२कालागि पूर्ण खोप सुनिश्चितता घोषणा गरियो ।
यता सूर्यविनायक नगरपालिकाले पनि १५ महिना मुनिका १,४५५ जना, १६ देखि २३ महिनाका १,३५३ बालबालिकाहरुको पहिचान गरी १,३५३ जनालाई पूर्णखोप सुनिश्चित गरेर गत जेष्ठ २८ गते नै सूर्यविनायक नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर निश्चित गरि सकेको थियो भने जेष्ठ ३० गते पूर्ण खोप सुनिश्चित सूर्यविनायक नगरपालिका घोषणा समेत गरेको थियो । यसै गरी चाँगु नारायण नगरपालिकाले १५ महिना मुनिका १,०९५ जना, १६ देखि २३ महिनाका ९१८ जना बालबालिकाहरुको संख्या निश्चित गरेर ९१८ जना बालबालिकाहरुलाई पुर्ण खोप प्रदान गरेको पुष्टि गर्दै यसै असार महिनाको २ गते पूर्ण खोप सुनिश्चित गरी असार १२ गते घोषणा समेत गरियो ।
यो तथ्यांगले जिल्लामा आ.व. २०८१।८२मा १५ महिना मुनिका ४,७१४ जना, १६ देखि २३ महिनाका ५,९०६ जना बालबालिकाको पहिचान गरी ५,८९९ जनालाई पूर्णखोप सुनिश्चित गरेको छ । यसैक्रममा मध्यपुर थिमि नगरपालिकाका १६ देखि २३ महिनाका ८ जना बालबालिका ड्रप आउट भएको र सोही पालिकाका एक जनामा जिरो डोज रहेको पुष्टि गर्दै जनस्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख एवं जिल्ला जनस्वस्थ्य अधिकृत अन्जना खड्काले जिल्लाका ४ वटै पालिकाहरुलाई पूर्ण खोप सुनिश्चितता प्रमाणिकरण गरिसकेको ख्वप कार्यक्रमका फोकल पर्सन तथा नर्सिङ्ग विभागका अधिकृत रुपा प्याठले जनाएकी छिन् ।

यो हाम्रा बालबालिकाको सुन्दर भविष्य सुनिश्चितताकालागि वडा, पालिका, प्रदेश र सिंगो राष्ट्रको दीगो विकास लक्ष्यसँग जोडिएको पूर्ण खोप सुनिश्चिता र दीगोपना कार्यक्रम हो । यस कार्यक्रमले भविष्यका कर्णघार हाम्रा बालबालिकाकालागि स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता हरेक वर्ष यसैगरी खोजी रहनेछ । अतः पूर्ण खोप सुरक्षित भविष्य
भन्दै यस वर्षको पूर्ण खोप सुनिश्चितता र दिगोपना कार्यक्रम सम्पन्न भएसँगै हाम्रा बालबालिकाको भविष्य थप सवल भएको पुष्टि हुनेछ र यो स्वस्थ मानव सभ्यताको निरंतरता र पुस्तान्तरणकालागि पनि सबैको हातेमालो र सहकार्य एवं विभिन्न निकायका सरोकारवालाहरुको भनाई र प्रतिबद्धताहरु पनि यतिखेर स्मरणीय छ ।

Comments