माया पाएपछि वदलिएको त्यो उदाहरण


असार २५, २०८२, बुधबार | दिउँसो ०१:३२ बजे | 440


माया पाएपछि वदलिएको त्यो उदाहरण

भक्तपुर । मानिसले जीवनमा उचित माया पायो भने आफनो जीवन नै बदल्न सक्ने उदाहरण देखाइदिएका छन्, भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहका विद्यार्थीहरुले । बाल सुधार गृह अन्तर्गत भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं २ सानोठिमीमा सञ्चालित स्कुलबाट पछिल्लो एसइइ परीक्षामा सामेल  शतप्रतिशत विद्यार्थी उतीर्ण भएबाट यसको पुष्टी भएको हो । 
युसेप नेपालको व्यवस्थापनमा सञ्चालित बाल सुधार गृह अन्तर्गत सानोठिमीमा काठमाडौं उपत्यकामै एउटै मात्रै बाल प्रभा माविको नामबाट नमूना विद्यालय सञ्चालित छ । त्यही विद्यालयबाट एसइइ दिएका सम्पूर्ण विद्यार्थी परीक्षामा उतीर्ण भएका हुन् । यो स्कुलले मध्यपुर थिमिमा सञ्चालित १८ वटा सरकारी विद्यालयहरुमध्येबाट सर्वाेत्कृष्ट नतिजा निकाल्न सफल भएको हो । 
बालप्रभा माविकी प्रिन्सिपल राज्यलक्ष्मी श्रेष्ठ विद्यार्थीमा यस परिवर्तनको मुख्य कारण नै ‘माया’ रहेको अनुभब सुनाउँंछिन् । ‘सुरुमा म विद्यालयमा पढाउन जाँंदा क्लास लिंदै गर्दा पनि अनुमति विना नै बच्चाहरु मनपरी क्लासबाट भित्रबाहिर गर्दथे,  दुई वर्ष अगाडि स्कुलमा पुगेकी प्रिन्सिपल श्रेष्ठले सुनाइन्, त्यसपछि मैले विद्यार्थीको मनोविज्ञान बुझेर मायाले काम गर्न थाले ।’
उनको अनुभबमा स्कुलमा अध्ययनरत विद्यार्थीहरु ‘हामीले अपराध गरेर सजायँं भोगिरहेका हौं । हाम्रो अभिभावक पनि छैन । हाम्रो कोही पनि छैन । अव पढेर के नै हुन्छ र ? भन्ने पढाइको महत्व नबुझेर उनीहरुमा पढाईमा कुनै चासो थिएन । आफू प्रिन्सिपल भएपछि ‘तिमीहरुको अभिभावक हामी छौं । तिमीहरुको पनि उज्ज्वल भविष्य छ । राम्ररी पढ्यो भने जीवन बन्छ भनेर भरोस दिन थालेको अनुुभब उनले सुनाइन् । सुरुमा आफू गणितको शिक्षिका भएकाले गणित विषयमै शतप्रतिशत उतीर्ण गराउन प्रयास थालेको र गणितमा उतीर्ण गराउने गरी पढाउन सके अरु विषयमा पनि उतीर्ण गराउन सकिन्छ भन्ने भावनाका साथ काम थालेको उनले सुनाइन् । यति मात्रै नभई मध्यपुर थिमि नगरपालिका, लायन्स तथा अन्य विभिन्न सहयोगीहरुको साथबाट बालबालिकाहरुलाई दसैंतिहारलगायतका विभिन्न अवसरहरुमा पेटभरि मासुभात खुवाउनेलगायतका कामहरु गरेर विद्यार्थीहरुको पनि कोही छन् भन्ने भावना जगाइदिएको उनी सुनाउँंछिन् । आफूले पनि दसैभता नलिई विद्यार्थीलाई पेटभरि खान पाउने गरी दसैमा मासु किनेर खुवाएर माया देखाएको अनुभब उनले सुनाइन् । लगातारको यही मायाले विद्यार्थीले पढाइको महत्व बुझेको र भविष्य देखेर पढाईृ गराउन सकेको कारणले नै आजको सफलता पाएको अनुभब प्रिन्सिपल श्रेष्ठले सुनाइन् ।
यो स्कुलमा १८ वर्ष मुनिका कानुनी दायरामा संलग्न भएर बाल सुधार गृह पुगेका बालबालिका मात्रै विद्यार्थी छन् । बाल सुधार गृहमा रहेका बालकहरुलाई असल व्यवहार सिकाउने, असल चरित्र निर्माण गर्ने उद्देश्यका साथ बाल सुधार गृहमा राखिन्छ । त्यस्तै प्रकारका बालकहरुको अध्ययन अध्यापनका लागि यो स्कुल सञ्चालित छ । यस्ता बालबालिकालाई हौसला र प्रेरणा दिन बाल सुधार गृह प्रयत्नशील रहन्छ । 
हाल यहाँंको बाल सुधार गृहमा झण्डै दुई सय ५० को हाराहारीमा बालबालिकाहरु रहेको बताइएको छ । तीमध्ये स्कुलमा एक सय ८५ को हाराहारीमा विद्यार्थी छन् । बाल सुधार गृहमा रहेका बालबालिकाहरुमध्ये बालकहरुलाई मात्रै पढाईको सुविधा छ । किशोर किशोरी उमेरमै अपराध गरेर आएका कारण बालक र बालिकाहरुलाई एकैठाउँंमा पढाई नगराएको र कम संख्यामा रहेका बालिकाहरुलाइ छुटै पढाइको व्यवस्था गर्न नसकेको जनाइएको छ । सुधार गृहमा रहेका बालिकाहरु छुटै भबनमा शीपमुलक शीपहरुमा सिमित हुन्छन् । 
महिला तथा जेष्ठ नागरिक मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र यस्ता विद्यालय यही एउटा मात्रै छ । उपत्यकाबाहिर मोरंग, कास्की, रुपन्देही, पर्सा, मकवानपुर, डोटी र बाँंकेका दुई ठाउँंमा गरी देशभर कुल नौ वटा यस्ता स्कुलहरु रहेका छन् ।
 

Comments