ख्वपमा ११ कक्षाका लागि ११ जना चार जिपिएका विद्यार्थी परीक्षामा सहभागी  


असार २३, २०८२, सोमबार | साँझ ०४:४५ बजे | 810


ख्वपमा ११ कक्षाका लागि ११ जना चार जिपिएका विद्यार्थी परीक्षामा सहभागी  

भक्तपुर । ख्वप मावि देकोचा भक्तपुरमा कक्षा ११ मा भर्ना हुन ११ जना चार जिपिए ल्याउन सफल विद्यार्थी प्रवेश परीक्षा (लिखित)मा सहभागी भएका छन् । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित यस स्कुलमा पहिलो चरणको भर्नामै यति संख्यामा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षामा सहभागी भएका हुन् । उनीहरुको अन्तर्वार्ता परीक्षा भोलि मंगलबार हुने तालिका सार्वजनिक गरिएको छ । अन्य चरणहरुमा पुनः थप चार जिपिए ल्याउन सफल विद्यार्थी भर्ना हुने विश्वास गरिएको छ । 
पहिलो चरणको लिखित परीक्षा शनिबार भएको थियो । दोश्रो चरणको लिखित परीक्षा बुधबार हुने तालिका सार्वजनिक भइसकेको छ । स्कुलले दोश्रो चरणमा पनि पाँंच वटै संकायमा विद्यार्थी भर्ना जारी राखेको छ । विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षा संकाय पाँंच वटैमा दोश्रो चरणमा पनि भर्ना जारी राखेको जनाएको छ । 
चार जिपिए ल्याउन सफल विद्यार्थी सवैजना विज्ञान संकायका लागि रहेको माविले जनाएको छ । व्यवस्थापन संकायमा भने ९.९२ प्रतिशतसम्मका विद्यार्थी सहभागी रहेको स्कुलले जनाएको छ । 
पहिलो चरणमा विज्ञान संकायमा सवैभन्दा वढी विद्यार्थी प्रवेश परीक्षामा सहभागी रहेका छन् । विज्ञानपछि क्रमशः व्यवस्थापन, कानुन, मानविकी र शिक्षा संकायप्रति विद्यार्थीको आकर्षण रहेको स्कुलको तथ्यांक छ ।  
पहिलो चरणको परीक्षामा विज्ञान संकायका लागि गोमा श्रेष्ठ पनि सहभागी भएको स्कुलले जनाएको छ । गोमा इटाभटामा मजदुरीको काम गरेर पनि चार जिपिए ल्याउन सफल रहेपछि चर्चामा छिन् । 
ख्वप माविका प्रिन्सिपल लक्ष्मीप्रसाद कर्माचार्यले गोमाले पनि कक्षा ११ विज्ञान संकायमा भर्ना हुन परीक्षा दिएको जानकारी दिए । परीक्षा दिए पनि उनलाई काठमाडौं वल्र्ड स्कुल गुण्डूले तानेको छ क्यार, प्रिन्सिपल कर्माचार्यले भने । 
चार जिपिए ल्याएपछि गोमालाई नेपाली कांग्रेस जिल्ला समिति भक्तपुरका सभापति एवं भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले निःशुल्क पढाई गराइदिने घोषणा गरेका थिए । त्यसलगतै गोमालाई काठमाडौंको तीनकुनस्थित नासा कलेजमा लगिएको फोटो सार्वृजनिक गरिएको थियो । त्यसलगतै भाटभटेनीका संञ्चालक एवं समाजसेवी मिनबहादुर गुरुगले आफूले एमवीवीएससम्म निःशुल्क पढाइदिने सार्वजनिक घोषणा गरिसकेका छन् । गोमा एमवीवीएस पढेर डाक्टर वन्न चाहन्छिन् । 
 

Comments