विनायकमा लैङ्गिक हिंसा विरुद्ध सडक नाटक
असार १३, २०८२, शुक्रबार | राति १०:२३ बजे | 345
मध्यपुर ठिमी, भक्तपुर
विभिन्न शिक्षण विधिहरूका माध्यमबाट युग सुहाउँदो वैज्ञानिक र स्तरीय शिक्षा प्रदान गर्दै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमी भक्तपुरले यही २०८२ असार १३ गते चेतनामूलक सडक नाटक प्रदर्शन कार्यक्रमको आयोजना गर्यो। मध्यपुर ठिमी नगरपालिकाको आयोजना तथा मध्यपुर मिडिया इन्टरनेसनलको कलाकारिता/ प्राविधिक सहयोगमा आयोजित उक्त सडक नाटक वरिष्ठ कलाकार रामचन्द्र अधिकारी (गोक्ते काजी) लगायतका कलाकारहरूले प्रस्तुत गरेका थिए। कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुलाई देखाइएको उक्त नाटक लैङ्गिक हिंसाविरुद्ध र धुम्रपान विरुद्ध जनचेतना जगाउने विषयवस्तुमा आधारित थियो। जसमा वर्तमान नेपाली समाजमा यदाकदा देखिने लैङ्गिक विभेद र त्यसको अन्त्यका लागि सामाजिक सचेतना जागृत गर्न विद्यालय स्तरदेखि नै विद्यार्थीहरूलाई सजग र चेतनशील बनाउनुपर्ने आवाज बुलन्द गरिएको थियो। साथै धुम्रपान र मध्यपानको सेवनले जो कोही व्यक्ति पनि अकालमै मृत्युको मुखमा पुग्न सक्ने भएकाले त्यसबाट टाढा रहने सन्देश पनि दिइएको थियो। कार्यक्रममा कलाकारहरु एवं विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले यस सडक नाटकको मूल मर्म बुझी लैङ्गिक हिंसा तथा धुम्रपान विरुद्धको अभियानमा आफ्नो घर, समाज र ठाउँदेखि नै लाग्नुपर्ने र त्यसको विपक्षमा रही मानव अधिकारको पक्षमा लागि पर्नुपर्ने कुरामा जोड दिन सबैलाई आग्रह गर्नुभयो। साथै विनायकमा आई आफ्नो अमूल्य समयका साथसाथै कलाकारिताको माध्यमबाट विद्यार्थीहरूमा चेतना सम्प्रेषण गरिदिनु भएकोमा सम्पूर्ण कलाकारहरूलाई प्रिन्सिपल प्रजापतिले धन्यवाद ज्ञापन गर्दै हार्दिक आभार समेत व्यक्त गर्नुभएको थियो।
