भिटोफ-नेपालको रोपाइँ महोत्सव रसुवामा
असार १३, २०८२, शुक्रबार | विहान ११:३७ बजे | 390
जयराम बिडारी
'समुन्नत नेपालको प्राथमिक आधार, पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार' भन्ने नारा बोकेको गाउँ पर्यटन प्रवर्धन मञ्च-नेपाल (भिटोफ-नेपाल)ले ग्रामीण भेगमा पर्यटकलाई आकर्षित गर्ने आफ्नो ध्येयबमोजिम यही असार १५ गते रोपाइँ महोत्सव-२०८२ आयोजना गर्ने जनाएको छ । कार्यक्रम संयोजक मनहरि दाहालका अनुसार स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले गाउँ पर्यटन प्रवर्धन मञ्च-नेपाल र कालिका गाउँपालिकाले संयुक्त रूपमा सो महोत्सवको आयोजना गर्ने छन् । उता नेपाल पर्यटन बोर्डद्वारा सो कार्यक्रमको प्रवर्द्धन गर्ने बताइएको छ । हरेक वर्ष झैँ यस वर्ष पनि रोपाइँ महोत्सव- २०८२ (कृषि पर्यटन) आयोजना गर्न लागेको सहर्ष जानकारी गराउँदै पर्यटन सम्बद्ध व्यक्तित्वहरूलाई सहभागी भई कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरिदिन दाहालले हार्दिक आमन्त्रण गरेका छन् । भिटोफ-नेपालकी अध्यक्ष सकुन्तला देवकोटा पाण्डेका अनुसार कार्यक्रमका प्रमुख अतिथि रसुवाका प्रतिनिधि सभा सदस्य मोहन आचार्य हुने छन् भने अन्य अतिथिहरूमा पर्यटन सम्बद्ध व्यक्तिहरू संलग्नता हुने पनि यसअगावै तय भइसकेको छ । आयोजक पक्षले रोपाइँ समारोहमा सरिक हुन चाहने सम्बद्ध सबैलाई चप्पल, साबुन / स्याम्पु, सानो गम्छा, भित्री कपडा, गन्जी / भेस्ट, टी-शर्ट, हाफ पाइन्ट, झोलाको कभर, फर्स्ट एड किट, फोन चार्जर, इयरपीस, क्यामेरा र रेनकोट जस्ता अत्यावश्यक सामग्री आआफैँले व्यवस्था गर्न आग्रह गरेको छ । यसैबीच यस वर्षको रोपाइँ महोत्सव कालिका गाउँपालिका–५, जिबजिबे, गैरीगाउँ, रसुवा रहेको भिटोफ-नेपालका प्रथम उपाध्यक्ष हरिशरण थपलियाले बताए ।
