लागूऔषध दुर्व्यसनरहित घर अभियान, २०८२ शुरू


असार १३, २०८२, शुक्रबार | विहान ११:३१ बजे | 115


लागूऔषध दुर्व्यसनरहित घर अभियान, २०८२ शुरू

लागूऔषध दुर्व्यसनरहित घर अभियान, २०८२ शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर र सामुदायिक सेवा केन्द्र सानेपाको संयुक्त आयोजनामा लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा साे अभियानकाे घाेषणा गरिएकाे हाे। सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको छ । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । साथै सोही अवसरमा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक गोबिन्द थापा र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले चित्रकला र निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध रोकथाम, नियन्त्रण एवम् अनुसन्धान लगायत हरेक क्रियाकलापमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।यस अभियानलाई सफल बनाउन ललितपुर महानगरपालिकाले सबै सरोकारवाला पक्षहरूसँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक थापाले कानूनको प्रभावकारी कार्यान्वयनको साथसाथै समाजमा घटित हुने हरतरहका अपराधको नियन्त्रण, रोकथाम र अनुसन्धानको प्रमुख जिम्मेवारी नेपाल प्रहरीले प्राप्त गरेको उल्लेख गर्दै सुरक्षित, स्वस्थ र लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । लागूऔषध दुर्व्यसन र कारोबारमा देखिएका प्रवृत्ति र प्रभावलाई निस्तेज पार्न प्रहरी कर्मचारीहरूलाई थप दक्ष, नविनतम् प्रविधि र स्रोतसाधन युक्त बनाउँदै लैजाने उल्लेख गर्दै उहाँले लागूऔषध विरूद्धको अभियानमा निर्ममतापूर्वक अगाडि बढ्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेश कुमार महर्जन र सामुदायिक सेवा केन्द्र सानेपाका सचिव सुरेन्द्र खड्काले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयले लागूऔषध दुर्व्यसन विरूद्ध सचेतनामूलक नाटक प्रस्तुती एवम् समुदाय-प्रहरी साझेदारी सम्बन्धी नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

लागूऔषध दुर्व्यसनरहित घर अभियान, २०८२ शुरू

Comments