मध्यपुर थिमिको बजेट ३ अर्ब २५ करोड


असार १०, २०८२, मङ्गलबार | विहान ०९:४७ बजे | 115


मध्यपुर थिमिको बजेट ३ अर्ब २५ करोड

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ३ अर्ब २५ करोडको बजेट सार्वजनिक गरेको छ । सोमवार भएको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले बजेट सार्वजनिक गरेका हुन् । नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा बसेको नगरसभा बैठकमा उपप्रमुख विजयकृष्ण श्रेष्ठले कुल ३ अर्ब २५ करोड रुपैंयाको बजेट सार्वजनिक गरे ।

उपप्रमुख श्रेष्ठले नगरपालिकाको सञ्चिती कोष, नगरपालिका अन्तर्गतको कमेरोटार जग्गा एकिकरण आयोजना, सिन्टिटार जग्गा एकिकरण आयोजना, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, सडक बोर्ड र सामाजिक सुरक्षा भत्तातर्फको समेत गरी कुल ३ अर्ब २५ करोड ६६ लाख ७० हजार एक सय रुपैंयाको बजेट बजेट सार्वजनिक गरे । नगरपालिकाको सञ्चिती कोषबाट व्यहोर्ने योजना र कार्यक्रमका लागि एक अर्ब ५२ करोड ८३ हजार ५ सय रुपैंयाको बजेट रहेको छ भने कमेरोटार जग्गा एकिकरण आयोजनाको ७० करोड २३ लाख, १३ हजार ७ सय, सिन्टिटार जग्गा एकिकरण आयोजनाको २० करोड ४० लाख १७ हजार एक सय, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको ६० करोड ३२ लाख ५५ हजार ८ सय, सडक बोर्डको ७० लाख र सामाजिक सुरक्षाभत्तामा २२ करोड विनियोजन गरिएको छ ।

नगरपालिकाको सञ्चिती कोषबाट व्यहोर्ने एक अर्ब ५२ करोड ८३ हजार ५ सय रुपैंयामध्ये पुँजीगततर्फ ७७ करोड ७७ लाख २८ हजार ५ सय र चालुतर्फ ७४ करोड २३ लाख ५५ हजार विनियोजन गरिएको छ । कुल विनियोजनको पुँजीगततर्फ ५१ दशमलव १६ र चालुतर्फ ४८ दशमलव ८४ प्रतिशत रहेको छ । खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट ३७ करोड २४ लाख ५७ हजार ९७९, राजश्व बाँडफाँडबाट ४० करोड १३ लाख ७५ हजार ५२१, अन्तरसरकारी वित्त हस्तान्तरण संघीय सरकारबाट ६० करोड ५३ लाख, बागमती प्रदेश सरकारबाट ७ करोड ९ लाख ५० हजार, लागत सहभागिताबाट एक करोड आय हुने अनुमान गरिएको छ ।

Comments