हजारौको भीडको एउटा फरक चिया पसल 


असार ५, २०८२, बिहीबार | विहान ०७:१६ बजे | 1320


हजारौको भीडको एउटा फरक चिया पसल 

काठमाडौं । काठमाडौं उपत्यकामा धेरै चिया पसलहरु छन् । ती धेरै चिया पसलहरुमध्ये फरक चिया पसलको नाम हो, आमा डेरी एण्ड बेकरी क्याफे । काठमाडौं महानगरपालिका वडा नं ३२ पेप्सीकोला हिमताज मार्गस्थित यो सामान्य चिया पसलले ठूलो काम गरेकाले होइन, सानै काम गरेकाले फरक परिचय बनाएको हो । यो चिया पसलले दैनिक एक कप चियाको पैसा (३० रुपैयाँं) असाहय, विपन्न बालबालिकाहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि सहयोगका रकम जम्मा गरेर फरक पहिचान बनाएको हो । 
क्याफे सञ्चालिका शकिला कार्की थोपाथोपा मिलेर समुद्र बन्छ भन्ने हिसावले आफूले सकेको सानो सहयोगको अभियान चलाएको बताउँंछिन् । उनका अनुसार यसका लागि एक दिनमा तीस रुपैयाँ चिया पसलमा राखेको माटोको खुत्रुकेमा खसालिन्छ । 
यसका लागि उनले पसलमै ठूलो एउटा माटोको खुत्रुके राखेकी छन् । त्यसमा उनले मार्करले वाल स्वास्थ्यका लागि सहयोगलगायतको व्यहोरा लेखेकी छिन् । त्यसको अर्थ उनी चिया पसलमा आएका ग्राहकलाई सहयोग रकम राख्न लगाउँंदैनन् । बरु आफैं नियमित रुपमा दैनिक एक कप चिया बराबरको पैसा खुत्रुकेमा हाल्छिन् ।  
‘सहयोग सानो होस् या ठूलो, सफा मन र दिलले दिएको जति नै भए पनि ठूलो हुन्छ होला जस्तो लाग्छ, उनले नागरिकसँंग भनिन्, सहयोगीको मन कस्तो रहेछ भन्नेमा फरक हुन्छ । कुनै सहयोग यस्तो हुन्छ, अंक सुन्दा थोरै लाग्छ । तर, भावनात्मक रुपमा त्यसले ठूलो अर्थ राख्छ ।’ 
पसल खोलेको चार महिनापछिबाट यो अभियान थालेको कार्कीले सम्झिन् । पहिलो पटक आफूले एक कप चियाको पैसा बराबर एक वर्षसम्मको जम्मा भएको पैसा बाल अस्पताललाई छुट्याएर हस्तान्तरण गरिसकेको उनले सम्झिन् । उनले डा. भगवान् कोइराला नेतृत्वमा निर्माण भइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई दैनिक एक कप चियाको पैसा जम्मा गरेर हस्तान्तरण गरेको सुनाइन् । 
‘पहिला एक कप चियाको २५ रुपैयाँं लिन्थे, त्यस हिसावले एक वर्षमा नौ हजार एक सय २५ रुपैयाँं जम्मा भयो, क्यालकुलेटरमा हिसाव देखाउँंदै उनले भनिन्, चानचुन हुने गरी नगरौ भनेपछि मैले त्यसमा आठ सय ७५ रुपैयाँं थप गरेर १० हजार पुरयाएर सहयोग रकम हस्तान्तरण गरे ।’
क्याफे सञ्चालिका कार्कीले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पतालका सञ्चालक डा. कोइरालालाई हालसम्म संकलित १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेकी सुनाइन् । ‘ठूला–ठूला बिजनेस हाउसले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने प्रवृत्ति रहे पनि ससाना व्यवसायमा यो खाले चलन छैन,’ सञ्चालिका कार्कीले भनिन्, ‘हामीले सानै रकम भए पनि सामाजिक उत्तरदायित्वका लागि छुट्याएर केही गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको हो ।’
क्याफेमा दैनिक चिया बिक्री भएमध्ये एक कपको पैसा जम्मा गरिराखिएको र सोही रकम अस्पताल निर्माणमा हस्तान्तरण गरिएको उनको भनाइ छ । ‘स–सानो सहयोगबाटै ठूलो रकम जम्मा हुने भएकाले हरेक चिया पसलले दिनको एक कप चियाको रकम मात्र छुट्याउँदा पनि ठूलो हुन्छ भन्ने सन्देश दिन खोजिएको हो,’ सञ्चालिका कार्कीले भनिन्, ‘यसले डा. कोइरालाको अभियानमा ठूलो सहयोग पुग्न सक्छ ।’
पछिल्लो समय चिया पसल सञ्चालनको लहर चलिरहेका बेला बाल अस्पताल निर्माणका लागि अभियान चलाउन सकिए २० हजार चिया पसलले दिनको एक कप चिया (३०) रुपैयाँ मात्र छुट्याउँदा पनि एक वर्षमा २ अर्ब बढी संकलन हुने हिसाव उनले निकालिन् । ‘त्यसैले बाल अस्पताल निर्माणका लागि हरेक चिया पसलले दिनको एक कप चियाको रकम दिने वातावरण मात्र मिलाउन सके अरु कहीँबाट उठाउनै पर्दैन । डा. कोइरालाको अभियानको नेतृत्व गर्न म तयार छु’, सञ्चालिका कार्कीले भनिन् ।
अस्पताल निर्माण सम्पन्न नभएसम्म आमा डेरी एण्ड क्याफेले नियमित रुपमा सहयोग गर्ने उनको भनाइ छ । त्यसका लागि डा. कोइराला आफैले पनि एक कप चियाको ३० रुपैयाँ जम्मा गरिसकेको उनले सुनाइन् ।
आफूले जस्तो अभियान अरुले पनि गरोस् भन्ने इच्छा उनको छ तर उनी अनिवार्य गर्न दबाब दिंदिनन् । साथै भगवान कोइरालालाई नै दिनुपर्छ नभई कुनै सामाजिक कार्यमा खर्च गर्न सकिने उनी सम्भावना औल्याउँंछिन् । 
समाज कल्याण परिषद् अन्तर्गतको राष्टिय जेष्ठ नागरिक कोष भृकुटीमण्डप काठमाडौंका पूर्व प्रमुख उनका पिता बसन्तराज कार्की छोरीको सामाजिक भावनाप्रति मख्ख छन् । भन्छन्, यस्ती छोरी पाएकोमा आफूलाई गर्व महशुश गर्छु । 
 

Comments