भिक्षुले दिए वक्सरहरुलाई प्रबचन
असार ४, २०८२, बुधबार | साँझ ०५:२५ बजे | 35
भक्तपुर, ३ असार । भक्तपुर जिल्ला बक्सिङ्ग संघको आयोजनामा डा. भिक्षु मंगल महर्जनको प्रमुख आथ्यितामा बौध्द दर्शन अनुसार जीवन दर्शन र निर्वाण प्राप्ति सम्बन्धी प्रवचन कार्यक्रम चुनदेवी भक्तपुर गेष्ट हाउसमा मंगलबार एक समारोहबीच सम्पन्न भयो ।
प्रशिक्षण दिँदै डा. भिक्षु मंगल महर्जनले गौतम बुद्धले प्रतिपादन गर्नु भएको जीवन र जगतप्रतिको विश्लेषण हो, जसलेदुःखको कारण, त्यसको निवारण, निर्वाण प्राप्तिको मार्ग देखाउँछ भन्नुभयो । उहाँले बौद्ध दर्शनले जीवनलाई परिवर्तनशील, अनित्य (अस्थायी) र दुःखयुक्त मान्दछ । यसले व्यक्ति आफैं भित्रको चेतनालाई बुझेर मुक्ति प्राप्त गर्न सम्भव हुने दृष्टिकोण दिने बताउनुभयो । उहाँले चतुः आर्य सत्यहरु र अष्टाङ्गिक मार्ग आधारभूत शिक्षाहरू मानिन्छन् भन्नुभयो ।
उहाँले चतुःआर्यहरुमा दुःख – जीवन दुःखमय छ । जन्म, बुढ्यौली, रोग, मृत्यु सबै दुःख हुन् । दुःखसमुदय – दुःखको कारण तृष्णा (इच्छा, लोभ) हो । दुःखनिरोध – तृष्णाको अन्त्यले दुःखको अन्त्य हुन्छ । दुःखनिरोधमार्ग– दुःखको अन्त्य गर्न अष्टाङ्गिक मार्ग अपनाउनु पर्छ भन्नुभयो । उहाँले अष्टाङ्गिक मार्गः सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाक्, सम्यक कर्म, सम्यक आजीविका, सम्यक प्रयास, सम्यक स्मृति, सम्यक समाधि बारे बोल्नु भएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिका ७ नं वडाध्यक्ष एवम् नगर खेलकुद समितिका पूर्व संयोजक उकेश कवाँले हरेक व्यक्तिको आफूले थाहा पाएको प्रयाप्त नहुन सक्ने भएकोले आलोचनात्म दृष्टिकोणले हेर्नुपर्ने बताउँदै बौद्ध दर्शनले जीवनलाई अनित्य, दुःखपूर्ण र अत्माकविहीन मानेर तृष्णा र मोहबाट मुक्त हुने उपाय सिकाउँछ भन्नुभयो । उहाँले मानिसलाई आत्म चिन्तन, नैतिक आचरण र मानसिक अनुशासनद्धारा निर्वाण प्राप्त गर्ने मार्ग देखाउने बताउँदै जीवनको साँचो सार बुझ्न दुःखको कारण चिन्न र त्यसलाई पार गर्न बौद्ध शिक्षाहरु आज पनि अत्यन्त सान्दर्भिक छन् भन्नुभयो ।
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखु र भक्तपुर जिल्ला बक्सिङ संघका सचिव साजन लघुले धन्यवाद ज्ञापन गर्नुभयो ।
.png)