सूर्यविनायक भक्तपुरकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका
जेठ ३०, २०८२, शुक्रबार | साँझ ०६:३० बजे | 1180
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भएको छ । जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सूर्यविनायक नगरपालिका पहिलो खोप सुनिश्चित जिल्ला हुन सफल भएको जनाएको हो ।
सूर्यविनायक नगरपालिका स्वास्थ्य शाखाले शुक्रबार गरेको पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रम २०८१।०८२ मा पूर्ण खोप सुनिश्चित नगरपालिकाको शपथ पनि लिइएको थियो । नगर प्रमुख बासुदेब थापाले सवै जना स्वास्थ्यकर्मीहरुलाई शपथ खुवाएका थिए । त्यस अवसरमा थापाले नगरभरिका विभिन्न स्वास्थ्य चौकीका प्रमुमहरुलाई प्रमाणपत्र पनि वितरण गरे ।
कार्यक्रममा प्रमुख थापाले पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका बनाउन सहयोग गर्ने स्वास्थ्यका कर्मचारीहरुसहित सवैलाई धन्यवाद व्यक्त गरे । उनले सवैको सामूहिक प्रयासबाट नै यो सफल भएको बताए ।
बताइए अनुसार नगरभरिका सवै वडाहरुमा खोप नलगाएका बालबालिकाहरु नभएपछि त्यसको अनुगमन गरिन्छ । अनुगमनबाट पनि पुष्टी भएपछि यसलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित गरिन्छ ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले नगरबासीको जन्मदेखि मृत्युसम्मको व्यवहारलाई सहयोग गर्ने काम नगरपालिकाले गरिरहेको जनाए । जन्मेदेखि खोप लगाउने कार्यदेखि मृत्यु भएपछि शव वाहनसम्मको व्यवस्था नगरपालिकाले गरिरहेको उनको भनाई थियो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अन्जना खड्काले जिल्लाका चार वटै नगरपालिकाहरु पूर्ण सुनिश्चित नगरपालिका घोषणाको क्रममा रहेको बताइन् । यसपछि भक्तपुर जिल्ला बागमती प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुने विश्वास उनले लिइन् ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं १ देखि १० सम्मकै वडा अध्यक्षहरु सहभागी थिए । साथै नगरभरि काम गर्ने विभिन्न स्वास्थ्य चौकीका प्रमुख तथा स्वास्थयकमीृहरु पनि सहभागी थिए ।
