निःशुल्क पौभा पेन्टिङ तालिम सुरु


जेठ २१, २०८२, बुधबार | विहान ११:५१ बजे | 260


निःशुल्क पौभा पेन्टिङ तालिम सुरु

भक्तपुर । उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना एवं भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा भक्तपुरमा बुधबारदेखि निःशुल्क पौभा पेन्टिङ तालिम सुरु भएको छ । 
सीपलाई पुस्तान्तरण गर्ने उद्देश्यका साथ संघको हलमा एक महिने निःशुल्क पौभा पेन्टिङ तालिम सञ्चालन गरिएको हो । एक कार्यक्रमका बीच तालिमको उद्घाटन गर्दै उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले बागमती प्रदेश सरकारले नवउद्यमीहरु उत्पादन गर्ने हेतुले विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्नको लागि बजेट विनियोजन गरेको जानकारी दिँदै सोही बजेटबाट कार्यालयले जिल्लामा उद्यमशीलता विकासका लागि तालिमहरु सञ्चालन गर्दै आएको बताए । चालू आर्थिक वर्ष २०८१÷०८२ को लागि स्वीकृत बजेट अन्तर्गत भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा पौभा पेन्टिङ तालिम सञ्चालन गरिएको उनको भनाइ छ । 
उनले पुर्खाले गर्दै आएको पेसा, सीपलाई जगेर्नाको लागि पुस्ता हस्तान्तरण गर्न नितान्त आवश्यक रहेको चर्चा गर्दै पुस्ता हस्तान्तरण गर्ने उद्देश्य अनुरुप नै पौभा पेन्टिङ सञ्चालन गरिएको बताए । पौभा पेन्टिङ कला, संस्कृतिसँग जोडिएको हुनाले तालिमले स्थानीय मौलिकता बचाउन महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । 
संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले मानिसहरुको आर्थिक जीवन स्तर उकास्नको लागि उद्यम गर्नुपर्नेमा जोड दिँदै सफल उद्यमी बन्न त्यस क्षेत्रमा राम्रो ज्ञान तथा तालिमको आवश्यकता रहेको बताइन् । पौभा पेन्टिङ तालिमबाट सीपसँगै क्षमता अभिवृद्धि हुने भएकाले तालिममा सहभागी प्रशिक्षार्थीहरुको पनि तालिम पश्चात आर्थिक उन्नति हुने उनले विश्वास गरिन् । तालिममा आफूले सिकेका सीपलाई भविष्यमा सही सदुपयोग गर्न आग्रह गर्दै उनले छोटो समयको पौभा पेन्टिङ तालिमबाट पूर्ण ज्ञान प्राप्त हुन नसके पनि लगनशील भएर लागेमा आत्मनिर्भर हुने आधार तयार हुने बताइन् । 
संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, कोषाध्यक्ष विश्वराम दुवाल, कार्यसमिति सदस्य एवं संघ अन्तर्गतको तालिम तथा सीप विकास उपसमितिका संयोजक पृथ्वीभक्त प्रजापतिले पौभा धर्मसँग मात्र सम्बन्धित नभई संस्कृति चिनाउने कला रहेको जनाउँदै तालिमबाट सिर्जनशील बन्न सहयोग पुग्ने भएकाले तालिम अर्थपूर्ण हुनुपर्ने बताए । प्रशिक्षक बलराम न्हिुसुतूले पौभा पेन्टिङको इतिहासको बारेमा जानकारी दिँदै युवा पुस्तालाई पौभा पेन्टिङतर्फ आकर्षित गरी रोजगारउन्मुख बनाउनको लागि तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस किसिमका तालिमहरु सञ्चालन भइरहनुपर्नेमा जोड दिए ।  
 

Comments