सगरमाथा आरोहण गर्ने पहिलो मृर्गौला प्रत्यारोलाई सम्मान


जेठ १६, २०८२, शुक्रबार | राति ०९:४२ बजे | 220


सगरमाथा आरोहण गर्ने पहिलो मृर्गौला प्रत्यारोलाई सम्मान

भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले आयोजना गरेको एक विशेष कार्यक्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृगौला प्रत्यारोपण पश्चात सगरमाथाको सफल आरोहण गर्न सफल कीर्तिमानी आरोही शोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गर्नुभएको छ । मिर्गौला प्रत्यारोपण गरेको अन्य कोही पनि व्यक्तिले अहिलेसम्म सगरमाथा आरोहण गरेको थिएनन् । मन्त्री पौडेलले सगरमाथा चढी विश्वमै पहिलो रेकर्ड कायम गरी नयाँ इतिहास रचेकोमा बधाई ज्ञापन गर्नुभयो ।
सम्मान कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदिप पौडेल, स्वास्थ्य मन्त्रालयका अधिकारीहरु, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार श्रेष्ठ लगायतको उपस्थिति थियो । स्वास्थ्य मन्त्री पौडेलले पेम्बा र उनको परिवारका सदस्यलाई समेत सम्मान गर्दै अंग प्रत्यारोपण गरेको व्यक्तिले अरु व्यक्ति जस्तै समान्य जीवन बिताउन सक्छ भन्ने सन्देश अन्य सेवाग्राहीहरु माझ पु¥याउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पेम्बा शेर्पाकोतर्फबाट गरिएको प्रस्तुत कार्य नेपाल र नेपालीको शीर उच्च पार्न एक ऐतिहासिक कदम भएको भन्दै मन्त्री पौडेलले पेम्बा शेर्पालाई प्रत्यारोपण प्रवद्र्धन दूतका रुपमा नियुक्त गर्ने बचन बद्दता समेत व्यक्त गर्नभयो । 
मन्त्री पौडेलले अझै पनि मष्तिष्क मृत्यु पश्चात अंगदान गरेर मानिसको ज्यान बचाउन सकिने भए पनि दाता पर्याप्त पाउन नसकिएको उदाहरण प्रस्तुत गर्दै शेर्पाको आरोहणबाट समाजमा सचेतना फैलाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
यसै कार्यक्रममा मन्त्री पौडेलले सगरमाथा आरोहणको जोखिम मोल्ने भए पनि भरियाहरुको स्वास्थ्य बीमा नभएको भन्दै उनीहरुको बीमाका लागि पहल गर्ने घोषणा समेत गर्नुभयो ।
सम्मान कार्यक्रममा बोल्दै पेम्बाले मृत्युबाट उम्केर बल्लतल्ल नयाँ जीवन पाएको मान्छे फेरि मृत्युको मुखमा किन जान्छस् भनेर धेरैले सम्झाउने गरेको, अरुसँग सहयोग उठाएर २५–३० लाख खर्च गरेर सगरमाथा चढ्न खोजेको देख्दा धेरैले असंभव कार्यको लागि बढी जिद्धी नगर भनेर सुझाव दिएको घटना स्मरण गर्दै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट आफूले पाएको मायाँ र सेवाको प्रतिफल स्वरुप उच्च मनोवलका साथ आफू सगरमाथा आरोहण गर्न सक्षम भएको प्रमाणित गर्न दृढ संकल्पित भएको बताए ।
‘अहिले मैले सोचेँ मूर्ख मान्छेहरु वास्तवमा यो संसारमा सफल हुने रहेछन्’ पेम्बा भन्छन्, मूर्खभित्रको महामूर्ख रहेछु म, किनभने मूर्ख नभएको भए मैले त्यस्तो आँट गर्दैगर्दिन थेँ नि ।’ जे–जस्तो भए पनि आफूले मूखर्तापूर्वक ढिपी गरेर लक्ष्यमा हासिल गरिछाडेको पेम्बाले बताए । 
वैदेशिक रोजगारीका क्रममा मृगौला फेल भएको पत्ता लागे पछि स्वदेश फर्किएका सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–७ सोलावनका ३६ वर्षीय पेम्बाले शेर्पाले २०७९ कार्तिक २ गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वको टोलीबाट मृगौला प्रत्यारोपण गराएका थिए । सगरमाथा आरोही पेम्बा शेर्पाले यस आरोहणले आफूमा साहस र आत्मविश्वास झनै बढेको र आगामी दिनमा विश्वको सात वटै महादेशको उच्च शिखरहरु आरोहण गर्ने कुरा समेत बताउनु भयो । सन् २०२४ मार्च २२ मा लोबुचे हिमाल आरोहण गरेका शेर्पाले गत वैशाख ३१ गते स सगरमाथा आरोहण गर्दै कीर्तिमान कायम गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरिएको सम्मान लगत्तै धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा आयोजित एक विशेष कार्यक्रममा सगरमाथा आरोही शेर्पालाई केन्द्रका  कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले उनलाई सम्मान गर्नु भयो भने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट बाजागजा सहित भक्तपुर दरवार स्क्वायर सम्म पदयात्रा गरी विशेष सम्मान समेत गरिएको थियो । 
शहीद धर्भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले पेम्बालाई हिमाल चढ्न मिल्छ भनेर आफूले पनि प्रेरणा दिएको र मिर्गाैला प्रत्यारोपण गरेको व्यक्ति हिमाल चढ्न मिल्छ कि मिल्दैन भनेर पेम्बाले सोध्न आउँदा अरु जस्तै 
सामान्य जीवन यापन भएकोले सगरमाथा चढ्न जाँदा हुन्छ भनेर सल्लाह दिएको बताउनु भयो भने यो सफलता प्राप्तीको लाागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विशेष धन्यावद दिए । स्वास्थ्य मन्त्रालयले प्रत्यारोपण केन्द्र स्थापना गरेर यसलाई उच्च प्राथमिकतामा राखेर सेवा गर्ने वातावरण बनाइदिए बापत यो कार्य सम्भव भएको कुरा डा पुकार चन्द्र श्रेष्ठले बताउनु भयो ।
 
 

Comments