यी हुन् भक्तपुरका बर्षको उत्कृष्ट खेलाडी, रेफ्री तथा निर्णायक जो सम्मानित भए


जेठ १५, २०८२, बिहीबार | दिउँसो ०२:२४ बजे | 130


यी हुन् भक्तपुरका बर्षको उत्कृष्ट खेलाडी, रेफ्री तथा निर्णायक जो सम्मानित भए

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नपाको आयोजनामा २०८१ सालमा भक्तपुर जिल्लाबाट बिभिन्न खेल प्रतियोगितामा सहभागी भई पदक प्राप्त गरेका बर्षको उत्कृष्ट खेलाडीहरु‌लाई सम्मान तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडी, रेफ्रि तथा निर्णायकहरूलाई आज सम्मान कार्यक्रम सम्पन्न भयो । भक्तपुर  नपाले यस बर्ष खेलाडी, रेफ्रि र निर्णायक गरी ६१ जनालाई सम्मान ग¥यो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले पुँजीवादी व्यवस्थामा स्वस्थ प्रतिस्पर्धा नहुने हुँदा राम्रा र योग्य खेलाडीहरुलाई नियोजित रुपमै षड्यन्त्रका गतिविधि हुन सक्ने तर्फ खेलाडीहरु सचेत हुनुपर्ने बताउनुभयो ।
शासक दलहरुको अकर्मन्यताको कारण नेपालको गणतन्त्र ओझेलमा परिरहेको बताउँदै गणतन्त्रको विकल्प राजतन्त्र होइन, समाजवादी गणतन्त्र हो भन्नुभयो ।
राजनीतिक दलले इमानदारीपूर्वक देश र जनताको हितमा काम गर्न नसक्दा काठमाडौँ जस्तो ठाउँमा स्वतन्त्र उम्मेद्वारले जित्नु भनेको शासक दलप्रति जनताको असन्तुष्टि रहेको भन्नुभयो ।
संघ, प्रदेश र स्थानीय तहले खेलकुदलाई लगानीको रूपमा नभई नागरिकप्रतिको कर्तव्य र जिम्मेवारीबोध गर्दै यसलाई अगाडि बढाउनुपर्ने धारणा राख्दै उहाँले खेलाडीहरुले खेलकुदसँगै देशको समसामयिक विषयमा जानकारी हासिल गरी अगाडी बढ्नु पर्छ भन्नुभयो ।
खेलाडीहरु स्वस्थ र तन्दुरुस्त हुने हुँदा हरेक क्षेत्रमा खेलाडीहरुलाई प्रयोग गरिने हुँदा ग खेलाडीहरूले साधारण  नागरिकले भन्दा बढी जिम्मेवारी बहन गर्नु पर्छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नागरिकलाई स्वस्थ र अनुशासित बनाई खेलको माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रिय जगत्मा ख्याति बनाउने भक्तपुर नपाले खेलकुदलाई प्राथमिकता दिइरहेको बताउनुभयो ।
नेपालमा गणतन्त्रको स्थापना भएको  १७ बर्ष पूरा भए पनि पटक पटक सरकार पुगेका शासकहरुले जनताको हितमा काम गर्न नसक्दा जनतामा अहिले राजनैतिक दलप्रति वितृष्णा देखिएको प्रष्ट पार्नुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले खेलकुद मार्फत भनपाले छुट्टै पहिचान स्थापित गर्न खोजिरहेको बताउँदै भनपाको आयोजनामा भएमा खेलकुद गतिविधिले खेलाडीहरुको मनोबल बढेको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले खेलाडीहरूले आफ्नो उत्कृष्टता र सफलतालाई दिगो बनाउन निरन्तर खेलकुदमा सक्रिय हुनुपर्ने बताउँदै निराशाको बीच आशाको किरण छर्न नेपालका खेलाडीहरू सफल छन भन्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोद चरण रायले उत्कृष्ट खेलाडीको घोषणा गर्नुभएको थियो भने भनपा वडा नं. ४ का वडा सदस्य उपेन्द्र सुवालले धन्यवाद ज्ञापन दिनुभएको थियो ।

Comments