महिनावारी हुँदा महिलालाई महिलाले नै विभेद


जेठ १५, २०८२, बिहीबार | दिउँसो १२:४६ बजे | 105


महिनावारी हुँदा महिलालाई महिलाले नै विभेद

राष्ट्रिय महिला आयोगकी कार्यबाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले महिनावारी हुँदा महिलालाई महिलाले नै विभेद गरेको पाइएको बताउनुभएको छ । एघारौं अन्तर्राष्ट्रिय महिनावारी स्वछ्ता दिवसको अवसरमा एक्स्पोज नेपालद्वारा आयोजित सचेतनामुलक कार्यक्रममा खतिवडाले महिनावारी विभेद अन्त्यका लागि यस्ता किसिमका ब्यबहारलाई सुधार्नुपर्ने बताउनुभयाे । उहाँले महिनावारी प्राकृतिक नियम भएकाेले महिनावारीलाई स्वस्थ, स्वच्छ र सुरक्षित तथा मर्यादित बनाउन स्थानीय सरकार देखि राज्यले पनि महत्वपूर्ण भुमिका खेल्नुपर्ने धारणा राख्नुभयो । त्यसैगरी ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले गणतन्त्र दिवसको शुभकामना दिदै फेरिएको राज्यव्यवस्थाले गर्दा आज महिलाहरूले खुलेर महिनावारीकाे कुरा गर्न सकेको बताउनुभयो ।महिनावारीमा गरिने विभेद न्यूनीकरणका लागि समाजमा अझ यसबारे जनचेतना फैलाउनुपर्ने उल्लेख गर्दै उहाँले महिला स्वास्थ क्षेत्रमा यस किसिमको कार्यक्रम गर्नुभएकोमा नेपालका प्याडम्यान ज्ञान महर्जनप्रती सम्मान व्यक्त गर्नुभयो । त्यसैगरी विशेष अतिथीका रुपमा जि आइ जेड नेपाल हेल्थ प्रोजेक्टका डेपुटी प्रोग्राम म्यानेजर तिर्थ कुमार सिन्हा रहनुभएको थियो । नेपालकै प्याडम्यान भनेर चिनिने एक्स-पोज नेपालका सस्थापक अध्यक्ष ज्ञान महर्जनले पहिलोपटकको साइकल र्यालीमा जम्मा ७२ जना सहभागी भएकाेमा एक जनामात्र महिला सहभागी भएकाे स्मरण गर्दै आज आठवर्ष सम्म आइपुग्दा करिब चार सय सहभागीमा ९० प्रतिशत महिलाको सहभागीताले थप हौसिएको बताउनुभयाे । अन्तरास्ट्रिय स्तरबाट तीन पटक उत्कृष्ट सामाजिक अभियन्ताको पुरस्कारद्वारा सम्मानित ज्ञान महर्जनले देशका विभिन्न जिल्लामा गइ सयौं दिदिबहिनीहरुलाई कपडाको पुन प्रयोग गर्नमिल्ने प्याड् बनाउने तालिम दिएर स्वरोजगार गराउदै आर्थिक उपार्जनमा समेत मद्द्त पुर्याउनु भएको छ । हरेक वर्ष अङ्ग्रेजी मे महिनाको 28 तारिखमा अन्तरास्ट्रिय महिनावारी स्वच्छ्ता दिवस मनाउदै आएको छ । महिनावारी मैत्री विश्वव्यापी हातेमालो भन्ने नाराका साथ काठमाडौको बसन्तपुर र भक्तपुर दरबार क्षेत्रबाट साइकल र्याली शुरु गरि ललितपुरको मंगलबजारमा समापन भएको हो । साथै साइकल र्यालिका सहभागी साइक्लिस्टहरुलाइ प्रमाणपत्र पनि प्रदान गरिएको थियो । र्यालीमा सहभागी ३ सय ९२ जना मध्ये ९० प्रतिशत महिलाहरु रहेका छ्न । यस अभियानमा वाटरएड नेपाल, राष्ट्रीय महिनावारी सञ्जाल MHMPA , वेल्ट हंगर हिल्फे, एसएनभी नेपाल, युके इन्टरनेशनल डेभलपमेन्ट, युवा नेपाल, राइट हियर राइट नाउ नेपाल, डिग्निटी विदआउट डेन्जर लगायतका संस्थाहरूकाे सहयाेग रहेकाे महर्जनले जानकारी दिनुभयो ।

Comments