बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराते प्रतियोगिता–२०८२ हुने 


जेठ ४, २०८२, आइतबार | दिउँसो १२:०५ बजे | 50


बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराते प्रतियोगिता–२०८२ हुने 

भक्तपुर । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै सूर्यविनायक नगर सितोरियो कराते संघको आयोजनामा ‘बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराते प्रतियोगिता–२०८२’ को आयोजना हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिता यही आउँदो जेठ ९ र १० गतेका दिनहरूमा जगातीस्थित शेराटन ब्याङ्क्वेट सूर्यविनायक नगरपालिका–८, भक्तपुरमा भव्य रूपमा सम्पन्न हुने जनाइयो ।
सम्मेलनमा प्रतियोगिता संयोजक रामशरण त्वातीले यस विशेष अवसरमा कराते खेलको माध्यमबाट युवा पुस्तामा अनुशासन, आत्मबल, आत्मविश्वास, नेतृत्व र राष्ट्रिय गौरवका भावना उत्पन्न गर्न अभिप्रेरित गर्दै, प्रतियोगितालाई राष्ट्रियस्तरकै प्रतिष्ठित कार्यक्रमको रूपमा स्थापित गर्ने उद्देश्य राखिएको जनाए । यस्ता प्रतियोगिताहरू केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई राष्ट्रियस्तरका भावी खेलकुद नायकहरू निर्माण गर्ने आधारशिला पनि रहेको उनले सुनाए ।
आयोजक संघका अध्यक्ष कृष्णराम जाकिबञ्जारले भक्तपुर जिल्लाको सितोरियो करातेले विगतमा अन्तर्राष्ट्रिय गौरव प्राप्त गरिसकेको इतिहास पनि यस अवसरमा स्मरणीय रहेको बताए । ८औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा अन्जु हाछेथु र बिना सुवालले स्वर्ण पदक जितेर देश र जिल्लाको नाम उच्च भएको उनले बताए । त्यसैगरी, १० औं साफमा रामशरण त्वाती र सुलोचना सिजाख्वाले पनि स्वर्ण पदक प्राप्त गर्दै करातेमा भक्तपुरको प्रभुत्व कायम भएको उनले बताए । १३ औं साफमा त मन्देकाजी श्रेष्ठको दोहोरो स्वर्ण पदक ऐतिहासिक कीर्तिमान नै भएको थियो । यस्ता सफलताहरूले प्रमाणित गर्छन् कि यस प्रकारका प्रतियोगिताहरू खेलाडीको भविष्य निर्माणमा अत्यन्तै आवश्यक छन् उनले भने ।
सम्मेलनमा आयोजक सचिव दीपेन्द्र ब्याञ्जूले यसपटकको मेयर कप प्रतियोगितामा करिब १० स्थानीय तहका टिमहरूको सहभागिता रहने जनाए । त्यसमा भक्तपुर, मध्यपुर, चाँगुनारायण, सूर्यविनायक, बूढानीलकण्ठ, पनौती, बनेपा, चन्द्रागिरी, काठमाडौं र गोदावरी नगरपालिकाहरूबाट आएका टिमहरू रहेका उनले जनाए ।
प्रतियोगितामा पुरुष र महिला दुबै वर्गमा विभिन्न तौल समूहहरूमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी र काता विधामा ७ वटा छुट्टाछुट्टै प्रतिस्पर्धा गरिनेछ । पुरुषतर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी र काता विधामा ८ वटा इभेन्टहरू आयोजना गरिनेछ । यस विस्तृत खेल तालिकाले विभिन्न उमेर र क्षमताका खेलाडीहरूलाई सहभागी हुने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । यसले समावेशिता र समतामा आधारित खेल संस्कृति विकास गर्न मद्दत गर्नेछ ।
प्रतियोगिता खेलको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै सञ्चालन गरिनेछ, जसमा प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरूले निर्णयकारी भूमिका निर्वाह गर्नुहुनेछ । उहाँहरूको उपस्थितिले खेलहरूमा निष्पक्षता, पारदर्शिता र व्यावसायिकताको प्रत्याभूति गर्ने जनाइएको छ ।
प्रतियोगिताको उदघाटन सत्रमा प्रमुख अतिथिको रूपमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको उपस्थिति रहनेछ । त्यस्तै, पुरस्कार वितरण तथा समापन समारोहमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले प्रमुख अतिथिको रूपमा प्रतियोगिता समापन गर्नुहुने छ ।
प्रतियोगिताको समापनमा हरेक तौल समुहका विजेता खेलाडीहरूलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिनेछ । साथै, समग्रमा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई विशेष सम्मान स्वरूप ट्रफी प्रदान गरिनेछ, जसले टोली भावना र एकता झल्काउनेछ । कातातर्फ पनि उत्कृष्ट प्रदर्शनका लागि पुरस्कारको व्यवस्था गरिएको छ ।
 

Comments