लामो रस्साकस्सीवीच भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा सुरु
जेठ ४, २०८२, आइतबार | विहान ०८:४० बजे | 130
भक्तपुर । भक्तपुर अस्पतालले स्थापनाको १२० वर्षपछि पहिलोपटक सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमवीच वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सेवाको सुभारम्भ गरे ।
वीर अस्पतालपछि स्थापना भएको दोस्रो पुरानो अस्पतालका रूपमा चिनिएको तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले चन्द्रलोक डिस्पेन्सरीको नाममा स्थापना गरेको अस्पतालमा बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको अत्याधुनिक क्षमताको सिटी स्क्यान सञ्चालनमा आएको हो ।
मेसिन (उपकरण) बाट औपचारिक रूपमा आइतबारदेखि बिरामीलाई सेवा प्रवाह गरिएको अस्पताल प्रशासनले जनाएको छ । यसअघि मेसिन भक्तपुर अस्पतालमा ल्याएसँगै बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा र बागमती प्रदेशसभाका सांसद सुरेश श्रेष्ठले मेसिन जडान क्षेत्रको अवलोकन गरी यथाशीघ्र सञ्चालनमा ल्याएर आमनागरिकलाई सहज र सुलभ सेवा प्रवाह गर्न अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टलाई निर्देशन दिएका थिए ।
अस्पतालका लागि बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयले बोलपत्र आह्वान गरी रु आठ करोड बजेटमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गरेर सञ्चालनमा ल्याइएको हो । मन्त्री थापाले भने, “भक्तपुर अस्पतालमा एक करोड १० लाखको लागतमा मेमोग्राम मेसिन ल्याउने तयारी गरिरहेका छौँ । यो मेसिन पनि जडान गरेपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं स्क्रिनिङ गर्न सजिलो हुनेछ । यी दुवै मेसिन सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति पनि सरकारले व्यवस्थापन गर्नेछ ।”
कोरोना महामारीमा अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवं हाल बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले यो अस्पताललाई रिफर सेन्टरबाट विशेषज्ञ सेवासहितको गुणस्तरीय सेवा दिलाउन सफल भएपछि देशकै उत्कृष्ट अस्पताल घोषणा भएको थियो ।
अस्पतालका कार्यकारी निर्देशक डा भट्टले सिटी स्क्यान जडान गरी परीक्षण सम्पन्न गरिएको बताउँदै आइतबार बिहान उद्घाटन गरेसँगै औपचारिक रूपमा सञ्चालनमा आएको बताए । उनले अब बिरामीले सिटी स्क्यान गर्न अन्य अस्पतालमा महँगो शुल्क तिरेर धाउनु नपर्ने बताए ।