उपाध्यायको उपन्यास ऐँजेरुको लोकार्पण


जेठ ३, २०८२, शनिबार | साँझ ०४:३८ बजे | 15


उपाध्यायको उपन्यास ऐँजेरुको लोकार्पण

काठमाडौं। उपन्यासकार शुकदेव उपाध्यायको दोस्रो औपन्यासिक कृति ऐँजेरुको लोकर्पण भएको छ । शनिबार साहित्य सदनमा आयोजित एक कार्यक्रममा रोचक घिमिरे,श्रीओम श्रेष्ठ रोदन,निर्मोही ब्यास,चन्द्रप्रसाद भट्टराई,माधव प्रसाद गौतम र उपाध्याय लगायतले उक्त उपन्यासको लोकार्पण गरे । नेपाल स्रष्टा समाजको आयोजनामा उक्त कृति लोकार्पण कार्यक्रम भएको हो । प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरेले समाजको यथार्थलाई उपन्यासले समेटेको बताउँदै ऐँजेरु जस्ता पात्रहरु समाजमा यत्रतत्र पाइने बताए । उपन्यासले पश्चिम नेपालको भूगोलको परिवेश चित्रण गरेको बताए । पुस्तकमाथि समीक्षा गर्दै अग्रज साहित्यकार चन्द्रप्रसाद भट्टराईले भने-'पात्रहरुले सजीव ढंगले संवाद गरेका छन्। कथाबस्तु शान्त र सलल बगेको छ। उनले भने उपन्यासका पात्रहरु जीवन्त छन् । पश्चिम नेपालको कथा समेटिएको पात्रहरुको चरित्र चित्रणमा मिहिनता देखिएको पठनीय कृति हो ऐँजेरु।' बरिष्ठ नियात्राकार निर्मोही ब्यासले उपन्यासको कथानक यथार्थमा आधारित भएको बताए । उनले भने-'सुकदेवले यो विषयमा नलेखेको भए म लेख्थें।' आफू उपन्यास पढेर भावुक भएको पनि उनले बताए । सभाध्यक्ष एवं नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले भने-'हिजो आज पश्चिमा शैलीमा जन्मदिन मनाउने परिवेश छ ।तर एउटा सर्जकले आफ्नो जन्मदिन सिर्जनात्मक कुरा गरेर कृति सार्वजनिक गरेर मनाउनु उदाहरणीय कार्य हो।' 'केक काटेर जन्मदिन बनाउनु र कृति सार्वजनिक गरेर जन्मदिन मनाउँनुमा आकास पातालको फरक छ । ७१ औं जन्मोत्सबमा कृति निकाल्नु स्रष्टाको निम्ति,परिवारको निम्ति मात्र नभएर समाजको लागि उदाहरणीय कार्य हो।' उनले उपाध्यायलाई थोरै समयमा साहित्यमा परिचित भएकोमा बधाई दिए । डा.शान्तिमाया गिरीले लेखकको व्यक्तित्व माथि प्रकाश पारिन् । कार्यक्रममा उपन्यासकारका गुरु माधव प्रसाद गौतम,उपन्यासकार शुकदेव उपाध्याय लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम स्रष्टा समाजका सदस्य प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरिन् ।

Comments