राजाको त्याग (संवाद सहित)


जेठ ३, २०८२, शनिबार | विहान ११:४६ बजे | 50


राजाको त्याग (संवाद सहित)

दृश्यः
पोखराको एक माध्यमिक विद्यालयमा सामाजिक अध्ययनको कक्षा। शिक्षकले आजको विषय सुरु गर्दै बोर्डमा लेख्नुहुन्छ — “के नेपालमा फेरि राजसंस्था आवश्यक पर्छ?”
शिक्षक (माधव सर)ः
विद्यार्थीहरू, आजको कक्षामा हामी एक संवेदनशील र ऐतिहासिक विषयमा छलफल गर्दैछौं — के वर्तमान लोकतन्त्र पर्याप्त छ, या हामीले फेरि राजसंस्थालाई सोच्नुपर्ने हो?
प्रदीप (हात उठाउँदै)ः
सर, म भन्न सक्छु?
माधव सरः
अवश्य प्रदीप, निडर भएर भन।
प्रदीपः
मलाई लाग्छ, राजा ज्ञानेन्द्रले जुन शक्ति जनतालाई फर्काउनु भयो, त्यो इतिहासमै दुर्लभ त्याग हो। उहाँले भन्नुभएको थियो — “जनताको नासो जनतालाई सुम्पनु, राजसंस्था समाप्त गर्नु होइन।” तर नेताहरूले त्यो शक्ति जनतामै प्रयोग गर्न सकेनन्।
निशा (गम्भीर स्वरमा)ः
हो सर, आज नेताहरू चुनाव जितेर ऐस आराम गर्छन्, जनतालाई भुल्छन्। राजा भने अझै पनि जनता कहाँ पुग्नुहुन्छ, मन्दिर जानुहुन्छ, कुराकानी गर्नुहुन्छ।
राजनः
सर, राजसंस्था शासन होइन भन्ने बुझ्नुपर्छ। त्यो राष्ट्रिय एकताको प्रतीक हो। नेताहरू पार्टीमा विभाजित छन्, राजा भने सबै नेपालीको साझा प्रतिनिधि थिए।
माधव सर (बोर्डमा लेख्दै)ः
“शासन र प्रतिनिधित्व फरक कुरा हुन्।”
(तिमीहरू धेरै गहिरो सोच्दैछौ।)
प्रदीपः
सर, राजा अझै जनताको मनमा जीवित छन्। उहाँहरूलाई देख्दा जनताले उत्साह देखाउँछन्, न कि डर।
निशाः
संविधानसभाले जनताको राय लिएको जस्तो लाग्दैन सर। नयाँ संविधानमा राजा हटाइयो, तर राष्ट्रपतिको चयन नेताहरूले गरे, जनताले होइन।
माधव सर (गम्भीर स्वरमा)ः
तिमीहरूको कुरा गम्भीर छन्। तर कानुनी रूपमा राजसंस्था अन्त्य भइसकेको छ। अब प्रश्न उठ्छ — के जनताको मनमा बस्ने नेतृत्व कानुनभन्दा शक्तिशाली हुन सक्छ?
सामूहिक मौनता।
माधव सर (मन्द मुस्कानसहित)ः
राजाको त्याग केवल इतिहास होइन, त्यो भविष्यको चिन्तन हो। आज तिमीहरूले सत्ता र नेतृत्वको अन्तर बुझ्यौ — त्यो नै सामाजिक अध्ययनको उद्देश्य हो।

Comments