भक्तपुर जिल्लामा ४ सय ८७ क्षयरोगी
जेठ ३, २०८२, शनिबार | विहान १०:२८ बजे | 215
सागर गुरागाईं
मध्यपुर थिमि । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी क्षयरोग सम्बन्धी सम्पर्क व्यक्ति (फोकल पर्शन) पार्वती थापाले हाल भक्तपुर जिल्लामा ४ सय ८७ जना क्षयरोगीहरुले औषधी सेवन गरिरहेको जानकारी दिनुभएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ लाय्कुस्थित आदर्श माध्यामिक विद्यालयको सभाहलमा आयोजित क्षयरोग सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा सम्पर्क व्यक्ति थापाले गत वर्ष भक्तपुर जिल्लामा ६ सय ८८ क्षयरोगी रहेकोमा यसवर्ष उक्त संख्या घटेर ४ सय ८७ मा झरेको जानकारी दिदैं क्षयरोगको परिचय, सर्ने तरिका (माध्यम), लक्षण र रोकथामबारे प्रोजेक्टर मार्फत जानकारी दिनुभयो ।
सम्पर्क व्यक्ति थापाले ८० प्रतिशत क्षयरोग सरुवा भएको र २० प्रतिशत नसर्ने क्षयरोग भएको जानकारी दिदैं मान्छेको शरीरको रौं र कपाल बाहेक जुनसुकै अंगमा क्षयरोग लाग्न सक्ने जानकारी दिनुभयो । प्रशिक्षक थापाले हाल नेपालमा पत्ता लागेका क्षयरोगी मध्ये ६७ प्रतिशत पुरुष र ३३ प्रतिशत महिला रहेको जानकारी दिदैं क्षयरोगको खकार जाँच पछि नियमित औषधी सेवन गरेमा ६ महिनादेखि २ वर्ष सम्ममा क्षयरोग पुर्ण रुपमा निको हुने जानकारी दिनुभयो । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरका सभापति हिरण्यप्रताप साँगामीले क्षयरोग सम्बन्धी जनचेतनामूलक व्यक्ति, घरपरिवार, समुदाय र विद्यार्थी केन्द्रित कार्यक्रम गरिरहेको जानकारी दिदैं वि.सं.२०५६ सालदेखि नेपाल सरकारले सुरु गरेको डट्स (स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानाीमा क्षयरोगीलाई औषधी खुवाउने) विधिमा आफुले विगतमा १३ वर्ष सेवा गरेको जानकारी दिनुभयो । कार्यक्रममा क्षयरोग निवारण संस्था भक्तपुरका पूर्व सभापति बाबुकाजी श्रेष्ठले भक्तपुर जिल्लामा वि.सं.२०३६ मा क्षयरोग निवारण संस्थाको स्थापना भएको जानकारी दिदैं संस्थाको स्थापनाको उद्देश्य, हालसम्मको गतिविधि एवं भावी कार्यक्रमबारे बुँदागत जानकारी दिदैं स्थानीय निकायसँग समन्वय र सहकार्य गर्दै स्कुलमा अध्ययनरत विद्यार्थी मार्फत पनि प्रत्येक परिवार, समाज र मुलुकभर क्षयरोगबाट बच्ने उपायबारे जानकारी दिन सकिने बताउनु भयो । संस्थाका सचिव विजय कर्माचार्यले कार्यक्रमको परिचय, उद्देश्य र महत्वबारे प्रकाश पार्दै भक्तपुर जिल्लालाई क्षयरोगी मुक्त बनाउने अभियानमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनु भयो । संस्थाकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक राजेश्वरी शिल्पकारले स्वागत मन्तव्यसँगै भक्तपुर जिल्लाका ४ वटै पालिकाको क्षयरोग पहिचान भएका व्यक्तिहरुको अवस्था, उपचार विधि र भावी कार्यक्रमबारे जानकारी दिनुभयो । कार्यक्रममा शिक्षाकर्मीहरु दुर्गामोहन श्रेष्ठ, बाबुकृष्ण रंजित लगायतका सहभागीहरुले विभिन्न जिज्ञासासँगै सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।