राजा अझै बाँच्छन्


जेठ १, २०८२, बिहीबार | विहान ०८:३७ बजे | 165


राजा अझै बाँच्छन्

पोखराको एक माध्यमिक विद्यालयमा सामाजिक अध्ययनको कक्षा चलिरहेको थियो। सरले हिजोको गृहकार्य जाँच्दै भन्नुभयो, “आजको विषय हो — के नेपालमा फेरि राजसंस्था आवश्यक छ?” सबै विद्यार्थीहरू एकअर्काको अनुहार हेर्न थाले। कोही मुस्कुराए, कोही गम्भीर भए। त्यो बेला आर्यनले हात उठायो। “सर, म भन्न सक्छु?” सरले मुस्कुराउँदै भने, “हो आर्यन, भन न।” आर्यन बोल्न थाल्यो, “राजसंस्था अब छैन भन्नु कानुन अनुसार ठीक होला। तर राजा ज्ञानेन्द्र आफैंले भन्नु भएको थियो — ‘राजाले जनताको नासो जनतालाई सुम्पिनु राजसंस्था समाप्त गर्नु होइन।’ मलाई लाग्छ, उहाँ अझै जनताको राजा हो।” पछिल्लो डेस्कमा बसेकी सृष्टिले जोड दिँदै भनिन्, “हो सर, राजा ज्ञानेन्द्र अहिले पनि पशुपतिनाथ, जनकपुर, पाल्पा, झापा — कति ठाउँ पुगेको देखियो। उहाँ मन्दिर जानुहुन्छ, जनतासँग कुराकानी गर्नुहुन्छ। आजका नेताहरू जस्तो होइन, जसले चुनाव जितेपछि जनतालाई चिन्छन् नै चिन्न।” “नेताहरू त चप्पल घिसार्ने जनतालाई बिर्सेर महंगा गाडी चढ्छन्,” अर्को साथी बिबेकले हाले। कक्षा भरि हल्का हाँसो आयो। आर्यन फेरि अगाडि बढ्यो, “राजा हुनु भनेको शासन गर्नु होइन सर, अहिलेको सन्दर्भमा — राजा हुनु भनेको राष्ट्रको पहरेदार हुनु हो। कुनै पार्टीको होइन, सबै नेपालीको प्रतिनिधि हुनु हो।” सृष्टिले भावुक हुँदै थपिन्, “संस्कृति हराउँदै छ सर। राजसंस्था हुँदा हाम्रा चाडपर्वमा विशेषता हुन्थ्यो। राजा दशैंको टीका दिनुहुन्थ्यो। आज त्यो भावना हराइरहेको छ।” सर केहीबेर मौन रहे। उनले सबै विद्यार्थीहरूलाई हेरे। अनि मन्द मुस्कानसहित भने, “तिमीहरूको विचार साँच्चै सोचनीय छ। जनताको राजा, संस्कृतिको पहरेदार, पारदर्शिताको प्रतीक — यदि त्यस्तो नेतृत्व फर्किन्छ भने नेपालका लागि साँच्चै शुभ हुनेछ।” त्यो दिन कक्षामा केवल गृहकार्यको प्रस्तुति भएन — त्यो दिन विद्यार्थीहरूले राष्ट्रको भविष्यबारे सोच्ने पाठ सिके।

Comments