हिलारीको अड्डालोमा अड्डालिदै
बैशाख ३१, २०८२, बुधबार | विहान ०५:३१ बजे | 30
डा इन्दुल केसी
सरकारी सेवा गरिरहँदा मेरो जिम्मेवारी नेपाल र नेपालीको हित संरक्षणमा लागि रहनु थियो । सरकारी सेवा प्रदान गर्ने विभिन्न निकायहरुमा मेरो सरुवा भइरहन्थ्यो जो स्वभाविक पनि हो । कहिले शिक्षा मन्त्रालयको कर्मचारीको हैसियतले इजरायलमा तालिम रत नेपालीहरुको तालिम अवधिमा भइरहेको प्रगति मूल्याङ्कनको लागि खटिन पपथ्यो त कहिले अन्य मन्त्रालयले दिएको जिम्मेवारी सम्पादन गर्न परिरहन्थ्यो । यस शिलशिलामा कहिले वन मन्त्रालय त कहिले उद्योग मन्त्रालयमा पनि मैले मुलुक र देशवासीको सेवककागर्ने अवसर पाएकै हो । मेरो सेवा निष्ठता प्रतिको निरन्तरको प्रयासको क्रममा मेरो सेवाको क्रम पर्यटन मन्त्रालयमा पनि भएको थियो । सबै मन्त्रालयको जिम्मेवारी आफैमा महत्वपूर्ण भएपनि पर्यटन मन्त्रालयको जिम्मेवारी भने विदेशी पाहुनाहरु संग सम्पर्क भइरहने कारणले गर्दा विशेष प्रकृतिको हुन गएको थियो ।
पर्यटन मन्त्रालयले मलाई दिएको कार्यादेशलाई पालन गर्ने शिलशिलामा म एक पटक युरोपको विकसित देश जर्मनीमा आयोजना भइरहेको पर्यटन प्रवद्धन अन्तराष्ट्रिय मेलामा नेतृत्व स्तरको भूमिका निर्वाह गर्दै मेलामा नेपालको पर्यटनीय सम्भावना नेपालले प्रदान गर्दै आएको विभिन्न प्रकारका पर्यटन जस्तै पर्वतारोहण, पदयात्रा कार्यक्रम, निकुन्ज अवलोकन, पुरातात्कि महत्वका स्थानहरुको अवलोकन, साहसिक पर्यटन, संस्कृतिक पर्यटन लगायतका सबै प्रकारका पर्यटकीय संभावनाहरुको बारेमा संभावित पर्यटकहरुलाई नेपाल भ्रमणको लागि उनिहरुको मानसिक तयारी गराउनु हुन्थ्यो । यस क्रममा नेपालका विभिन्न विशेषज्ञीय संस्थाहरुले पर्यटन प्रवद्र्धनका प्याकेजहरु सम्भावित पर्यटकहरुलाई प्रस्तुत गरिनै रहेको हुन्थे ।
नेपाल खासगरी पर्वतारोहण पर्यटनका लागि भने विश्वमा अग्रणी पर्यटकीय संभावना भएका मुलुक हो भन्ने बारेमा त थप केही भनी रहनु नपर्ला ।
मन्त्रालयबाट जिम्मेवारी लिएको व्यक्तिको हैसियतले मेरो कार्य सबै संस्थाहरुले प्रदान गरिरहेको सेवाको सामन्जस्य स्थापना गर्नुका साथै नेपाल सरकारको पक्षबाट प्रदान गरिदै आएको नीतिगत दृष्टिकोण तथा सहुलियत बारेमा पर्यटन क्षेत्रका विद्वान तथा गन्यमान्य ब्यक्तिहरु संग सम्पर्क तथा वार्तालाप गर्नु हुन्थ्यो ।
म आफै पनि थप मेहनत गर्दै त्यस्ता व्यक्तिहरुको खोजि गरिरहेको हुन्थ्ये । तर एक दिनको कुरा हो म पर्यटन कक्षमा रहेकै बेलामा एक जना अग्लो बदको गोरो शिरमा नेपाली भादगाउले टोपीमा खुकुरी क्रस चिन्ह लगाएको व्यक्ति मुस्कुराउँदै उपस्थित हुनु पुगे ।
सामान्यतया म पनि हसिलो अनुहारमा नै आफूलाई प्रस्तुत गर्ने ब्यक्ति हुँ । झन त्यसमाथि हँसिलो अनुहार साथै विदेशमा समेत नेपाली हुलियामा देखापरेका ती अपरिचित ब्यक्ति प्रति मेरो मूकुराहट सहितको स्वागत त नहुने कुरो नै भएन ।
विश्व विशाल छ त्यस विशाल विश्वको विशेष पहिचानको रुपमा अवस्थित हिमाल झन महत्वको छ । त्यस हिमालको पनि हिमाल (सर्वोच्च शिखर) सगरमाथा नेपाल र नेपालीले आफ्नो उच्चताबाट विश्वलाई हेर्दे, उच्चताबाट विश्वको अवलोकन गर्दै, आफ्नो उच्चतालाई विश्व सामु सरल रुपमा पस्किरहेछ ।
लामो समय देखि त्यस्तो हिमालको टाकुरामा पुग्न प्रयास भइरहेको थियो । त्यस्तै प्रयास सफल हुन सकेको थिएन । तर सन् १९५३ मा दुई जना व्यक्तिले त्यस हिमाल सगरमाथाको चुचुरो चुमेको थियो । त्यस मध्ये एक व्यक्ति थिए न्यूजिल्याण्डका सर एडमण्ड हिलारी ।
मेरो सामुन्ने उपस्थित भएर म सँग व्यक्तिगत भलाकुसारी र नेपालले पर्यटन प्रर्वद्धनको लागि गरिरहेको प्रयासका बारेमा प्रश्न गरिरहेको व्यक्ति सर हिलारी नै त होइन भन्ने आभाष पनि मेरो मनमा उठिरहेको थियो । ति व्यक्तिले आफूलाई हिलारी भएको परिचय पनि दिए र नेपालको पर्यटनको विकासका वारेमा अनेक प्रकारका सुझाव दिए भने मेरो तर्फबाट नेपाल सरकारले गरिरहेको प्रयासबारे उनलाई जानकारी दिएँ । विचार आदान प्रदान गर्दै, नेपाल र नेपालीलाई माया गर्ने विशेष अतिथिलाई चियाको ब्यवस्था गर्दै हामी चियाको चुस्की लिँदै विचार मन्थनमा थपा लागिरहयौं । उनको जिज्ञासा र मेरो तर्फबाट अनलाई थप जानकारी दिएको प्रसङ्गले उनलाई थप खुसी लागेको वा के हो शुरुमा हात मिलाएर गरिएको शुरुवात उनको अङ्गालोमा पुगेर टुङ्गियो । त्यो अङ्गालो म कहिले बिर्सन सक्दिन ।
०००