एउटा जात्रा जहाँ विस्का, दसै, तिहार भन्दा भव्य रुपमा मनाइन्छ...
बैशाख २९, २०८२, सोमबार | साँझ ०४:२४ बजे | 55
भक्तपुर । बुद्ध जयन्तीको अवसरमा सोमबार देशैभरि बुद्धजयन्ती धुमधामले मनाउँंदा भक्तपुरमा भने चण्डेश्वरीको जात्रा मनाइएको छ । भक्तपुरको चासुखेलमा भव्य रुपमा चण्डेश्वरीको जात्रा सम्पन्न भएको हो । प्रत्येक वर्ष वुद्ध जयन्तीकै दिन अर्गात् बैशाख शुक्ल पूर्णिमाको दिन भक्तपुर नगरको टिबुक्छें चासुखेलस्थित चण्डेश्वरी मन्दिर अगाडि यो जात्रा हुने परम्परा छ ।
बैशाख शुक्ल पुर्णिमा र त्यसको अघिल्लो दिन गरी दुईदिन यहाँं धुमधामसँग जात्रा मनाइन्छ । त्यसअनुसार आइतबार रातिदेखि जात्रा सुरु भएको थियो । जात्रा सोमबार दिनभर धुमधामकासाथ मनाइएको थियो । चासुखेलस्थित चण्डेश्वरी देवीको तीनतल्ले मन्दिर वरपर जात्रा सञ्चालन हुन्छ ।
जात्राको क्रममा सोमबार विहानदेखि चण्डेश्वरी मन्दिरमा मेला लागेको थियो । त्यसक्रममा त्यहाँं बलीसहित पुजाआजा गरिएको थियो । टोलका घरपरिवारले कसैले बोका त कसैले कुखुराको बली चढाएका थिए । त्यस क्रममा छोरीबेटी बुहारीले भाकल अनुसार फरिया चण्डेश्वरी देवीमा चढाउने परम्परा पनि रहिआएको छ ।
जात्राको क्रममा साँझपख चण्डेश्वरी देवीलाई खटमा विराजमान गर्नु अगावै रित्तो खटको जात्रा गर्ने चलन छ । त्यसपछि देवीलाई खटमा विराजमान गराई बाजागाजाका साथ ठूलो लावालश्करसहितको जात्रा हुने गर्दछ । जात्रा चण्डेश्वरी उकालो हुदै टिबुक्छे, साकोठाबाट पुगेको थियो ।
सरकारी पुजा सकेपछि चण्डेश्वरी देवी पुनः सोही बाटो फिर्ता भई टिबुक्छे टोल पुग्ने प्रचलन छ । तत्पश्चाात चण्डेश्वरी देवीको खट सुकुलढोका, गोल्मढी, इनाचो हुदै तचपाल टोल नपुग्दै आउने चौवाटोमा रोकिने परम्परा छ । यस क्रममा खटलाई नबोकी भुईमा घिसार्दै जात्रा गर्ने परम्परा छ । जुन नेपालको कुनै पनि ठाउँमा भएको नदेखिएको बताइन्छ । त्यसपछि खटलाई पुनः बोकी गोल्मढी, याता, गलसा पुखु हुदै क्वाछे ओरालोसम्म जात्रा गरिन्छ । पुनः खट फकाई चण्डेश्वरी मन्दिर परिसरको डबली पु¥याएपछि खटबाट मूर्ति निकाली पुजा हुन्छ । मूर्तिलाई पेटीमा विराजमान गराई भक्तजनबाट पूजा गरिन्छ । यही साँझ चण्डेश्वरी देवीको फूलप्रसाद पु¥याएपछि मात्र बनेपाको चण्डेश्वरीको जात्रा सुरु हुने परम्परा छ ।
चण्डेश्वरीको यो जात्रा स्थानीयहरु देशकै ठूलो चाँंडपर्व दसैं, तिहार, नयाँं वर्ष भन्दा वढी धूमधामका साथ मनाउँंछन् । यस क्रममा छोरी ज्वाईलाई पनि भोज बोलाएर घरघरमा भोज खाने गर्छन्, जुन परम्परा दशै, नयाँं वर्षमा मात्रै हुन्छ ।
यस अनुसार सोमबार साँंझ चण्डेश्वरीको मूर्ति द्यःछे (देवताघर) बाट निकालिएको थियो । पुजाआजाका साथ सिंगारिएको खटमा आरोहण गराइएको थियो । जात्राको क्रममा टिप्वा (निगालोको मुठ्ठा) बालेको थियो । यस दिनको जात्रा विशेषगरी मन्दिर अगाडिको उकालो अर्थात चासु ख्यःउकालोसम्म हुन्छ ।
जात्राको क्रममा ठाउँठाउँमा सिलाचा छवयेके भनी आगो धुनी बालिएको थियो । जात्रा सकेपछि चण्डेश्वरीको मूर्तिलाई मन्दिर परिसरमा राखी विभिन्न गुथीबाट गुथीपुजा गरी टोलबासीवीच भोजभतेर गरिएको थियो ।
जात्राको शुरुवात कसले कहिलेदेखि गरेको हो कुनै विस्तृत अध्ययन भएको नपाइएको इतिहासविद्हरु बताउँंछन् । मन्दिरसँग सम्बन्धित केही ठोस प्रमाणमा नेपाल सम्बत ८४८ जेष्ठ कृष्ण त्रयोदशीको दिन तत्कालिन भक्तपुरका राजा रणजीत मल्लको समयमा टिबुक्छे टोलका पञ्च समुदाय मिली मन्दिरमा सुनको छाना छाएको उल्लेख छ । त्यस्तै नेपाल सम्बत ८६५ मा चण्डेश्वरी देवी समिप पार्टी बनाएको अर्काे एउटा प्रमाण मौजुद छ । यसबाट भक्तपुरको चण्डेश्वरी देवीको मन्दिरको स्थापना एवम जात्रा रणजीत मल्लको समयमा मात्र भएको हो कि भन्ने अनुमान गर्न सकिने इतिहासविदहरु बताउँंछन् ।