जात्राले सद्भाव र अपनत्व वृद्धि गरोस्


बैशाख २४, २०८२, बुधबार | विहान ०६:४८ बजे | 100


जात्राले सद्भाव र अपनत्व वृद्धि गरोस्

विक्रम संवत्को नयाँ वर्ष शुरुआतसंगै काठमाडौं उपत्यकामा विभिन्न बस्ती, भेगहरुमा जात्राको रौनक देखिन्छ। जात्राको माहौल चैत्रको महिनामा पनि विभिन्न स्थानमा देखिएता पनि संख्यात्मक रुपमा भने बैशाख महिना भने अलि बढी नै जात्रामय हुने गर्दछ।यही अनुरुप बुंगद्य, आर्यावलोकितेश्वर, करुणामय अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा अहिले पाटनमा चलिरहेको छ।यो रथयात्रा नेपालकै सबैभन्दा लामो रथयात्राका रुपमा लिइन्छ । हरेक वर्ष बैशाख शुल्क चतुर्थीका दिन रथ तान्ने परम्परा अनुसार यस वर्षको रथयात्रा बैशाख १८ गतेदेखि शुरु भएको छ । बैशाख १८ गते पुल्चोकबाट रथ तानेर नटोल, श्रीबहाल हुँदै गाबहाल पु¥याइएको थियो। त्यसको भोलिपल्ट मंगलबजारसम्म रथ तानिएको थियो। त्यस्तै बैशाख २० गते मंगलबजारबाट हःखा हुँदै सुन्धारा र २२ गते त्यहाँबाट चक्रबहीलसम्म र २३ गते त्यहाँबाट लगनखेलसम्म तानिएको थियो । मीननाथसंगै ३२ हात लामो रथ तान्ने दृष्य स्वयंमा रोचक भएकोले यो जात्रामा बृहतको सहभागिता हुँदै आएको छ । रातो मच्छिन्द्रनाथलाई उपत्यकाबासीले बडो श्रद्धा र आस्थाका साथ पुज्ने गर्दछ।त्यसमाथि सहकालका देवताका रुपमा लिइने भएकोले यससंग जोडिएका परम्पराहरु कृषि जनजीवनमा आधारित रहेको छ।यो रथयात्राले समाजमा सबैको अस्तित्व र भूमिकालाई औल्याउँदै एकता र सद्भावको सन्देश प्रवाह गरिरहेको छ।ती जात्रापर्व सञ्चालनलाई राम्ररी नियाल्ने हो भने त्यसमा समाजमा सीप जानेका,विभिन्न पेशालाई अगाँल्दै आएका समूहहरुको एकआपसमा निर्भरता, सहअस्तित्व र सहकार्य भेटिने गर्दछ। यस रथयात्रामा देवतासंग सम्बन्धित धार्मिक विधि विधान पानेजुहरुले गर्छन्। पानेजुहरु शाक्य र बज्राचार्य थरका हुन्छन् । त्यस्तै कटुवाल दहबाट कलश बोकेर आउनेहरुलाई मलिनी भनिन्छ । देवताको मुखाकृति चित्रकारहरुले बनाउँछन् । रथ बनाउने सिकर्मीहरु बाराही, रथमा बेतबाँसको काम गर्ने ञवाँ महर्जन र डंगोल थरका हुन्छन्।रथको लागि काठ ल्याउनेदेखि बनाउने, पुजाआजा र परम्परामा विभिन्न जातजातिहरुको महत्वपूर्ण भूमिका रहेको छ। जात्रा भन्न वितिक्कै सबै तह, तप्का र जातजातिहरूले हर्षौलासका साथ रमाइलो गरि मनाइने एक पर्वको रूपमा लिनेगर्छन्। त्यसमाथि पनि रातो मच्छिन्द्रनाथको जात्रा भन्न वितिक्कै उसैपनि सबै जातजातिले मनाउने एक राष्ट्रिय पर्वपनि हो र रहँदैआइरहेको छ। रातो मच्छिन्द्रनाथलाई विश्व सम्पदामा सुचिकृत गर्ने प्रकृयामा रहेको गुठी संस्थानले पहल गरिरहेको बताउनुहुन्छ। रातो मच्छिन्द्रनाथको जात्रालाई कुनै एक विशेष जातजातिको रूपमा लिने प्रचलनलाई अन्त्य गर्दै सबै जातजाति हो भन्ने अपनत्व बनाउनु पर्ने स्थानीय जातिय संस्थाहरूको भनाई रहेको छ। सबैको साझाको रूपमा जात्रा व्यवस्थापन गर्न सके रातो मच्छिन्द्रनाथको जात्रालाई विश्व माझ पुर्याउन थप मद्दत पुग्ने पाटनमा कृयाशिल जातिय संस्थाहरू बताउनु हुन्छ।

Comments