२५६९ औं बुद्ध जयन्तीको अवसरमा भक्तपुर- नगदेश बौद्ध सम्पदा दर्शन साइकल यात्रा हुने


बैशाख २३, २०८२, मङ्गलबार | विहान ११:३३ बजे | 445


२५६९ औं बुद्ध जयन्तीको अवसरमा भक्तपुर- नगदेश बौद्ध सम्पदा दर्शन साइकल यात्रा हुने

वैशाख २३, २०८२ भगवान बुद्धको जन्म, सम्बोधिलाभ तथा महापरिनिर्वाण भएको त्रिसंयोगपूर्ण पवित्र दिन वैशाख पूर्णिमा (बुद्ध सम्वत् २५६९) को पावन अवसरमा बुद्ध जयन्ती समारोह समिति, मुनि बिहार भक्तपुरको आयोजनामा तथा साइकल कनेक्ट भक्तपुरको संयोजनमा यही वैशाख २७ गते शनिबार भक्तपुर–नगदेश बौद्ध सम्पदा दर्शन साइकल यात्रा हुँदैछ। सो साइकल यात्रा भक्तपुर इनाचोस्थित मुनि बिहारबाट शुरू भई इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दूधपाटी, छोङा गणेश, अरनिको राजमार्ग, शंखधर चोक, बालकुमारी, बाहाका बजार, नगदेश हुँदै नगदेश बौद्ध बिहारमा पुगेर पुनः बाहाका बजार, निकोसेरा, छोङा गणेश, सिद्ध पोखरी, भक्तपुर दरबार स्क्वायर, साकोठा, इनाचो भएर मुनि बिहारमा समापन हुनेछ। करिब १४ किलोमिटरको यो सांस्कृतिक एवं आध्यात्मिक यात्रा बौद्ध दर्शन र शान्तिको सन्देश जन–जनमा फैलाउने उद्देश्यले आयोजना गरिएको हो। आजको अस्थिर समय, द्वन्द्व र मानसिक तनावले भरिएको युगमा बुद्धको शिक्षाले मानिसहरूलाई शान्ति, करुणा र विवेकको बाटो देखाउने गहिरो क्षमता राख्दछ। यस अभियानले बुद्धका शिक्षालाई व्यवहारमै अवलम्बन गर्ने र नयाँ पुस्तामा प्रवर्द्धन गर्ने अवसर पनि प्रदान गर्दै आएको छ। साइकल कनेक्ट भक्तपुरले यो यात्रा विगत चार वर्षदेखि निरन्तर आयोजना गर्दै आएको छ। यस शृंखलाको आरम्भ २०७९ सालमा "भक्तपुरका बहा-बही बौद्ध सम्पदा दर्शन यात्रा-२०७९" बाट भएको हो। त्यसपछिका वर्षहरूमा मुनि बिहार, भक्तपुर–पाटी बिहार, ठिमी बौद्ध सम्पदा दर्शन यात्रा -२०८०, नैचाल-मलिगाउँ बौद्ध सम्पदा दर्शन साइकल यात्रा -२०८१ सफलतापूर्वक सम्पन्न भएका थिए। यस वर्षको संस्करण "भक्तपुर–नगदेश बौद्ध सम्पदा यात्रा- २०८२ का रूपमा सम्पन्न हुँदैछ। “यस कार्यक्रमका मुख्य अतिथि मुनि बिहार भक्तपुरका प्रमुख भिक्षु विप्पसी रहनु हुनेछ। शनिबार बिहान ६ बजे शान्ति पाठ तथा बौद्ध झण्डा हस्ताणतरण पश्चात साइकल यात्रा शुरू हुनेछ। साइकल यात्रा नगदेश बिहार पुगेपश्चात मध्यपुर थिमी वडा नं ७का अध्यक्ष कृष्णकुमार प्रजापतिको विषेश आतिथ्यतामा नगदेशवासीले सहभागीहरूलाई स्वागत गर्नेछ। साथै कार्यक्रममा प्राविधिक सहयोग जुजु बाइक्स भक्तपुरले प्रदान गर्नेछ।”- कार्यक्रम संयोजक साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाले जानकारी दिनुभयो।

Comments