इनाचो मुनि विहारमा सकियो सामूहिक प्रवज्या
बैशाख २२, २०८२, सोमबार | दिउँसो ०३:२१ बजे | 65
भक्तपुर । बौद्ध शिक्षा प्राप्तिका लागि देशभरबाट झण्डै तीन दर्जन कुलपुत्रहरु भक्तपुरको विहारमा पुगेका छन् । भक्तपुर नगरपालिका वडा नं ७ खँंचा इनाचोस्थित मुनि विहारमा उनीहरुलाई सोमबारबाट औपचारिक रुपमा वौद्ध शिक्षा प्रदान गर्न थालिएको छ ।
यो वर्ष बौद्ध शिक्षा लिन देशका विभिन्न जिल्लाहरुबाट भक्तपुर आएकाहरुलाई सोमबार सामूहिक प्रवज्या (स्वागत) गरिएको थियो । यसअघि उनीहरुलाई बौद्धमार्गीहरुले लगाउने चिवर (पहँेलो पहिरन) लगाउन दिइएको थियो । साथै यसअघि नै बौद्ध परम्परा अनुसार कपाल खौराइएको थियो ।
इनाचो मुनि विहार व्यवस्थापन समितिका सचिव शिव बालाका अनुसार प्रत्येक वर्ष मे ५ (आजको दिन) यसरी नै मुनि विहारमा प्रवज्या कार्यक्रम हुन्छ । त्यसअघि देशभरबाट बौद्ध शिक्षा लिन चाहनेहरुलाई आह्वान गरिन्छ । त्यस अनुसार वर्षमा एक पटक यहाँं सवैलाई जम्मा पारी औपचारिक शिक्षा सुरु हुन्छ । यसका लागि अभिभावक वा सरोकारवालाहरुले सम्पर्क गरी मुनि विहारको नाममा आफना सन्तानहरुलाई छोडेर जाने गरिन्छ । नयाँं शैक्षिक सत्र पनि यही समयमा हुने भएकाले सरकारी शिक्षाका लागि पनि यही समय उपयुक्त भएकाले वर्षमा एक पटक यही बेला बौद्ध शिक्षाका लागि आह्वान गरिन्छ ।
मुनि विहारमा वस्न थालेपछि उनीहरु बौद्ध परम्परा अनुसार मुनि विहारमै वस्नुपर्छ । उनीहरुलाई त्यहाँं गाँंस, बास अनि कपासको व्यवस्था मुनि विहार नै निःशुल्क रुपमा गरेको हुन्छ । साथै उनीहरुलाई सरकारी स्कुलहरुमा पढाउने वन्दोवस्त मुनि विहारले नै गरेको हुन्छ । उनीहरु सवैजना वौद्ध परम्परा अनुसार नै चिवरमा वसेर भिक्षा लिन पनि हिडनुपर्छ । साथसाथै दैनिक बौद्ध शिक्षा पनि लिनुपर्छ । यसका अलावा निःशुल्क स्वास्थ्य उपचारको सेवा पनि उनीहरुले पाएका हुन्छन् ।
मुनि विहारका अर्जुन भन्तेले पछिल्लो पाँच वर्षमा वर्षमा देशभरबाट झण्डै तीन दर्जनदेखि ६ दर्जनसम्म बौद्ध शिक्षाका लागि आउने गरेको जानकारी गराए । त्यसमा पुरुषहरु मात्रै हुने गर्दछन् । महिलाहरुका लागि छुटै वन्दोवस्त हुन्छ । साथसाथै घटीमा १० वर्षका हुनुपर्छ । वढीमा जति वर्षका भए पनि आउन पाउँंछन् । तर उनीहरु सवैजना बौद्ध परम्परा अनुसा विहारमै बस्नुपर्छ र बौद्ध शिक्षामा सहभागी हुनुपर्छ ।
इनाचो मुनि विहार भक्तपुरका प्रमुख विपस्वी भन्तेले विहारमा जीवन विताउन थालेपछि उनीहरु भविष्यमा बौद्ध शिक्षामै रहिरहन सक्छन् । उनका अनुसार सुरुमा उनीहरुलाई श्रामणेर भनिन्छ । पछि चिवर लगाएर बौद्ध शिक्षामै रहिरहन चाहेमा उनीहरुलाई भिक्षु भनिन्छ । साथसाथै मन नलागे श्रामणेर भएर पछि फेरि सामान्य जीवन विताउन आफनै घरमा जान सकिन्छ । बौद्ध शिक्षाका लागि विहारमै बस्ने वन्दोवस्त भक्तपुरको इनाचो मुनि विहार एउटै मात्रै हो ।