९३ र ८८ वर्षका अधिकारी दम्पतीको पुस्तक सार्वजनिक
बैशाख २१, २०८२, आइतबार | विहान ०८:०६ बजे | 100
सागर गुरागाईं
मध्यपुर थिमि । ९३ वर्षिय नन्दलाल अधिकारी र ८८ वर्षिया नर्वदा अधिकारीको संस्मरण संग्रह सार्वजनिक गरिएको छ । साहित्यकार भक्तलाल नेपालीको सभापतित्वमा भएको कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिमल्सिना भट्टराईले नर्वदा अधिकारी र नन्दलाल अधिकारीद्धारा रचित ट्याम्केका काखमा (गीत, कविता, भजन तथा संस्मरण संग्रह) र साहित्यकार जीवनाथ अधिकारीद्धारा सम्पादित नेपाली संक्षिप्त टुक्काकाश नामक दुई कृतिहरु सार्वजनिक गर्नुभयो । कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख भट्टराईले देवतुल्य मातापिताको ज्ञान सीप, अनुभव अनि योगदानको प्रशंसा गर्दै जेष्ठ नागरिकको सम्मान व्यवाहारिक रुपमा गरेकोमा कृतिका रचनाकारका छोराबुहारी एवं परिवारप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । ट्याम्केका काखमा संस्मरण संग्रहको समीक्षा गर्दै प्रा.डा. देवी नेपालले व्यक्ति उमेरले नभई सकारात्मक सोच, चिन्तन, क्रियाशीलता र व्यवहारले युवा हुने भन्दै देवतुल्य जीवित देवी देवताको रुपमा रहनु भएका मातापिताको सम्मानमा जीवनाथ अधिकारी एवं अधिकारी परिवारको कामको प्रशंसा गर्नुभयो । कार्यक्रममा साहित्यकार जीवनाथ अधिकारीद्धारा सम्पादित नेपाली संक्षिप्त टुक्काकोशको समीक्षा गर्दै प्रा.डा. यज्ञेश्वर निरौलाले साहित्यकार जीवनाथ अधिकारीले नेपाली भाषामा प्रचलित टुक्का संकलन गरेर अध्ययन र लेखन क्षेत्रलाई पनि फराकिलो बनाएको बताउनु भयो । साहित्यकार जीवनाथ अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न साहित्यकारहरुले आआफ्नो रचना वाचन गर्नु भएको थियो । स्थानीय जनआदर्श क्याम्पस ठिमीमा भएको कार्यक्रम अनुशीलन नेपाल र भक्तपुर बुढ्यौली साहित्य समाजले आयोजना गरेको थियो । साहित्यकार बसन्ती भुजेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कृतिहरु सार्वजनिकीकरण कार्यक्रममा नर्वदा अधिकारीले गीत र भजन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संमिक्षकद्धय प्रा.डा. देवी नेपाल र प्रा.डा. यज्ञेश्वर निरौलालाई विशेष सम्मान गरिएको थियो ।
दुई पुस्ताका दुई भिन्न कृतिहरु
बालकोट । ९३ वार्षिय नन्दलाल अधिकारी र ८८ वर्षिया नर्वदा अधिकारीद्धारा रचित ट्याम्केका कारखमा नामक गीत, कविता, भजन तथा संस्मरणसंग्रह र साहित्यकार जीवनाथ अधिकारीको नेपाली संक्षिप्त टुक्काकोश एकै साथ सार्वजनिक भएको छ । साहित्यकार जीवनाथ अधिकारी नन्दलाल अधिकारी र नर्वदा अधिकारीका छोरा हुन् । दुवै कृतिहरु एक कार्यक्रमबीच सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईले विमोचत गर्नुभयो । दुवै कृतिका बारेमा प्रा.डा.द्धय देवी नेपाल र यज्ञेश्वर निरौलाले समीक्षा गर्नुु भएको थियो । अनुशीलन नेपालले प्रकाशन गरेका उक्त कृतिहरु युवापुस्ता र नयाँ पुस्ताका लागि पनि पठनीय ज्ञानबद्र्धक र जानकारीमूलक रहेको साहित्यकार डा.सीता सुवेदीले बताउनुभयो ।