मन्त्रीले भने पुरस्कार पाउने गरी काम गर्नुस्


बैशाख १५, २०८२, सोमबार | विहान ११:०९ बजे | 155


मन्त्रीले भने पुरस्कार पाउने गरी काम गर्नुस्

मध्यपुर थिमि । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई पुरस्कार पाउने गरी काम गर्न सुझाएका छन् । अस्पतालको १७ औं वार्षिक उत्सव तथा अत्याधुनिक ब्लड बैंक स्थापनाको सोमबार अस्पतालमा एक विशेष समारोहको उदघाटन गर्दै उनले नगरपालिका स्तरमै अत्याधुनिक ब्लड बैंक स्थापना गर्नु स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे । मन्त्री पौडेल र मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले संयुक्त रूपमा नवस्थापित मध्यपुर रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को संयुक्त उदघाटन गरेका थिए ।
पौडेलले रक्तसञ्चार केन्द्रको सञ्चालनले नगरवासीहरूलाई सहज र छिटो सेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले आगामी दिनहरूमा अझ गुणस्तरीय सेवा विस्तार गर्ने सकोस् भनी शुभकामना व्यक्त गरे । 
उदघाटनसँगै खुला रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो । कार्यक्रममा विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, विद्यार्थी र स्थानीय बासिन्दाहरूले उत्साहपूर्वक रक्तदान गरे । 
कार्यक्रमको अवसरमा अस्पतालमा उपचाररत बिरामीहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफूल तथा पोषणयुक्त आहार समेत वितरण गरिएको थियो ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल विगत १७ वर्षदेखि मध्यपुर क्षेत्रका साथै भक्तपुर र आसपासका जिल्लाका सर्वसाधारणलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको मेयर श्रेष्ठले बताए । अस्पतालले अहिले आन्तरिक रोग, शल्यक्रिया, प्रसूति, बालरोग, दन्त सेवा, आकस्मिक सेवा लगायत विविध सेवाहरू संचालन गरिरहेको उनले जनाए । साथै हालै मात्र अत्याधुनिक प्रयोगशाला सेवा र डिजिटल एक्सरे सेवा थप गरिएको अस्पतालले जनायो ।
कार्यक्रममा वागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, पूर्व मेयर मदनकृष्ण श्रेष्ठ, उपपमेयर अन्जानादेवी मधिकर्मीलगायतले स्वास्थ्य क्षेत्रका विविध विषयमा चर्चा गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरू, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति थियो । समारोहलाई विभिन्न सांस्कृतिक कार्यक्रमले समेत थप रौनक दिएको थियो । स्थानीय कलाकारहरूको प्रस्तुति र विद्यार्थीहरूले प्रस्तुत गरेको स्वागत नृत्यले कार्यक्रममा विशेष आकर्षण थपेको थियो ।
 

Comments