भक्तपुरमै पहिलो पटक किक बक्सिङ्ग प्रतियोगिता हुने
बैशाख १३, २०८२, शनिबार | विहान ०६:४६ बजे | 40
भक्तपुर । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने सन्देशलाई आत्मसात् गर्दै नेपाल किक बक्सिङ्ग संघ, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरमै पहिलो पटक दुई दिने राष्ट्रव्यापि किक बक्सिङ्ग प्रतियोगिता हुने भएको छ । यही बैशाख १९ र २० गते भव्य रुपमा जगाती, सूर्यविनायक नगरपालिका–८, भक्तपुरमा हुने शनिबार पत्रकार सम्मेलन गरी जनाइयो । प्रतियोगिता मार्फत राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरुलाई पहिचान गर्ने, प्रशिक्षण दिन सक्ने र भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल प्रतिनिधित्व गर्न सक्षम बनाउने उद्देश्य राखिएको सम्मेलनमा आयोजक समितिका अध्यक्ष कृष्णराम जाकिबञ्जारले बताए ।
हालै सम्पन्न १९ औं एसियाली खेलकुद, हड्झाउ, चीनमा ऐतिहासिक रूपमा किक बक्सिङ्गलाई आगामी २० औं एसियाली खेलकुदमा समावेश गरिने घोषणा भएको सन्दर्भमा यो प्रतियोगिता नेपालका सम्भावनाशील खेलाडीहरूलाई अगामी एशियाली खेलकुदको लागि तयार पार्न महत्वपूर्ण अवसरका रुपमा लिइएको सचिव राजुसिं बजिक्वले बताए । यस प्रतियोगिता नेपालका सातै प्रदेशहरूका २० भन्दा बढी जिल्लाहरूबाट विभिन्न क्लबका गरी करिब १२० जना भन्दा बढी खेलाडीहरूको सहभागिता रहने अनुमान गरिएको छ । यो सहभागिताले किक बक्सिङ्गको राष्ट्रिय पहुँच र युवाबीच यसको लोकप्रियताको प्रमाण पनि प्रस्तुत गर्दछ । यसबाट उत्साहसित हुँदै यस प्रतियोगिताले युवाहरूमा खेलप्रतिको आकर्षण र प्रतिबद्धता अझ बडाउने, खेलको गुणस्तरीय अभिवृद्धि गर्ने विश्वास पनि राखिएको छ ।
प्रतियोगिता विश्व किक बक्सिङ्ग महासंघद्वारा स्वीकृत के १ नियमावली अनुसार सञ्चालन हुनेछ । प्रत्येक बाउट ३ राउन्डको हुनेछ, र प्रत्येक राउन्डको अवधि २ मिनेट हुनेछ । यसले खेलाडीहरुको शारीरिक क्षमता, प्रविधि र मानसिक बलको उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्नेछ ।
प्रतियोगितामा ११ वटा तौल तथा वर्गगत प्रतिस्पर्धाहरू सञ्चालन गरिनेछ, जसमा पुरुष तर्फ ५१ केजी, ५४ केजी, ५७ केजी, ६३ दशमलब ५ केजी, ६७ केजी, ७५ केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हनेछ भने महिला तर्फ ५२ केजी, ५७ केजी, ६० केजी र खुल्ला तौल वर्गमा खेलहरु सञ्चालन गरिनेछन् । साथै, प्रतियोगिताको विशेष आकर्षणको रूपमा २ वटा प्रो फाइट (व्यावसायिक स्तरका खेलहरू) पनि आयोजना गरिनेछन् । खेलाडीहरुको तौल जाँच बैशाख १८ गते गरिनेछ । साथै, काठमाडौं उपत्यका बाहिरबाट सहभागी हुने खेलाडीहरूको सुविधालाई ध्यानमा राख्दै, प्रतियोगिताको दर्ताको अन्तिम मिति पनि बैशाख १८ गतेसम्म तोकिएको छ ।
सहभागी खेलाडीहरूका लागि स्वर्ण, रजत र कास्य पदक प्रदान गरिनेछ । त्यस्तै, समग्रमा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई विशेष ट्रफी प्रदान गरिनेछ, जसले टोलीगत अभ्यास र समर्पणलाई सम्मान दिनेछ ।
विशेष गरी प्रो फाइटमा विजेता र उपविजेता दुवैलाई पुरस्कार प्रदान गरिने छ । यसले व्यावसायिक खेललाई प्रोत्साहन दिने मात्र नभई खेलकुद क्षेत्रलाई दीर्घकालीन पेशाको रूपमा अगाडि बढाउने सोचलाई समेत बल पुरÞ्याउनेछ । यस प्रतियोगिता मार्फत आयोजक समितिले खेललाई पेशा, प्रतिष्ठा र भविष्य निर्माणको आधारको रूपमा पनि स्थापित गर्न चाहेको छ । यसै सन्दर्भमा, प्रतियोगितामा नगद पुरस्कारको व्यवस्था गर्ने निर्णय गरिएको छ, जसले खेलाडीहरूलाई थप उत्साहित बनाउने विश्वास गरिएको छ । यस निर्णयले “खेल अब केवल शारीरिक अभ्यास मात्र नभई जीवन निर्वाह र राष्ट्रको गौरवको माध्यम पनि हो“ भन्ने सन्देश दिनेछ । साथै, खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै, प्रत्येक सहभागी खेलाडीका लागि प्रतियोगिताको सम्पूर्ण अवधिमा लागू हुने गरी रु. २ लाखसम्मको बीमा नीतिको व्यवस्था गरिएको छ, जसले प्रतियोगिताको व्यावसायिक र सुरक्षित प्रकृतिलाई पुष्टि गर्दछ ।