जोखिम मोलेर काम गर्ने व्यक्ति नै जीवनमा सफल हुने
बैशाख १२, २०८२, शुक्रबार | दिउँसो ०३:३९ बजे | 130
भक्तपुर ः भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाका उद्योगी व्यवसायीहरुका लागि सकारात्मक सोचको शक्ति विषयक उत्प्रेरणा कार्यक्रम शुक्रबार सञ्चालन गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै सफल उद्यमी, सकारात्मक सोचका उत्प्रेरक, सामाजिक अभियन्ता एवं लेखक कर्ण शाक्यले जोखिम मोलेर काम गर्ने व्यक्ति नै जीवनमा सफल हुने भन्दै सकारात्मक सोच राखेर आआफ्नो उद्योग व्यवसायप्रति प्रतिबद्ध भएर अगाडि बढ्न आग्रह गरे । उनले आफ्नो उद्यम व्यवसायको विगतका अनुभव सुनाउँदै सकारात्मक सोच राखेर उद्यम गरेर सफलता हासिल गर्न कठिन नरहेको बताए । शाक्यले सकारात्मक सोचले खुसी सिर्जना गर्न सिक्न सकिनेमा जोड दिए । उनले कुनै पनि व्यक्ति धनले मात्र खुसी हुन नसक्ने भन्दै मानिसले अर्थपूर्ण जीवन जिउन सक्नुपर्ने बताए ।
भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले उद्यमी व्यवसायीहरुलाई सकारात्मक सोचसहितको उद्यमशीलता विषयमा उत्प्रेरणा जागृत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । उनले सकारात्मक सोच नै उद्योगी व्यवसायीहरुको लागि सफलता पाउने महत्वपूर्ण उपकरण रहेको भन्दै सकारात्मक सोचसहितको परिणाम आशा गरे परिणाम पनि सकारात्मक नै हुने बताइन् ।
संघका निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव नविन प्रजापतिले पनि आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा संजिवबाबु ग्वंगले संघको बारेमा प्रस्तुतीकरण गरे ।
यसैबीच, कार्यक्रममा प्रमुख अतिथि शाक्यले संघले प्रकाशन गरेको २०८१ सालको टेबुल क्यालेन्डर र डायरी विमोचन गरे ।
यसैगरी, कार्यक्रममा संघले शिखर इन्स्योरेन्स कम्पनी लि., इम्पेरियल सेक्युरिटिज कम्पनी लि., नागरिक हस्पिटल, मिड भ्याली स्कुल तथा कलेजलाई प्रशंसा पत्र प्रदान गरेको थियो । संघकी अध्यक्ष धौबन्जाले संघमा आबद्ध जिल्लाका वस्तुगत सदस्यहरुलाई सदस्यता प्रमाण पत्र वितरण गरिन् ।