चौरासी वर्षको उमेरमा गीतको स्वराङ्कन गर्ने अभिलेख कायम
बैशाख ८, २०८२, सोमबार | विहान ०२:४० बजे | 205
चौरासी वर्षको उमेरमा नेपालका कुनै गायक–गायिकाले आफ्नै स्वरमा गीतको स्वराङ्कन गराएका छन् कि छैनन्, त्यसको आधिकारिक अभिलेख हामीसँग छैन । तर हिजोदेखि एउटा अभिलेख कायम भएको छ । चौरासी वर्षका भजनगायक डा. इन्दुल केसीले बनेपाको फ्लटर स्टुडियोमा पुगी स्वामी सच्चिदानन्द विशुद्धदेवका विषयमा लेखिएको गीतमा हिजो स्वराङ्कन गराउनुभएको छ । यस कार्यबाट चौरासी वर्षको उमेरमा गीतको स्वराङ्कन गर्ने नेपाली गायकका रूपमा उहाँले अभिलेख राख्नुभएको छ । यसअघि कुनै नेपालीले चौरासी वर्षको उमेरमा आफ्नै आवाजमा गीतको स्वराङ्कन गराएको रहेनछ भने डा. इन्दुल केसीले हिजोदेखि नयाँ कीर्तिमान कायम गर्नुभएको छ भन्न सकिन्छ । सत्तरी वर्ष उमेर नपुग्दै आफूलाई बुढो ठान्ने र भन्ने जमातका लागि उहाँको यो जाँगर र कार्य उदाहरणीय छ । हरि मञ्जुश्रीको रचना र सङ्गीत तथा मच्छेश्वर सापकोटाको सु्परिवेक्षण रहेको यस गीतमा बबिता प्याकुरेलको पनि स्वर रहेको छ । डा. इन्दुल केसीले यो गीत यही वैशाख १७ गते अक्षयतृतीयाको दिन सार्वजनिक गर्ने योजना बनाउनुभएको छ । उहाँ शब्दयात्रा प्रकाशनका आजीवन सदस्य हुनुहुन्छ । आफ्नो नाउँमा नयाँ अभिलेख राख्न सफल हुनुभएकोमा उहाँलाई शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट हार्दिक बधाई ज्ञापन गरिएको छ ।