ककसले कतिकति पटक छेडे जिब्रो ?


बैशाख २, २०८२, मङ्गलबार | दिउँसो ०१:४० बजे | 115


ककसले कतिकति पटक छेडे जिब्रो ?

बोदे । प्रत्येक वर्ष विस्का जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोदेमा हुने जिव्रो छेड्ने जात्रामा यस वर्ष तेस्रो पटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएका छन् । मध्यपुर थिमि नगरपालिका वडा नं ८ को प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा सुजनले जिब्रो छेडाएका हुन् ।
नवौँ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोदेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले यो वर्ष पनि जिव्रो छेडाएर जात्रालाई जीवन्तता दिएका हुन् । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौ पटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए ।
जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने चलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्ने परम्परा छ । यसपछि बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।
जात्राका लागि चार दाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने चलन छ । यसअघि जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि व्रत बस्नुपर्छ । 
परम्परा अनुसार जिब्रो छेड्ने व्यक्तिले जिव्रो छेड्ने तीन दिन अघि नाय पमाको घरमा पुगेर नाय पमा, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुपर्छ । यसपछि सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा छ ।
परम्परादेखि चल्दै आएको जिव्रो छेडने जात्रामा हालसम्म धेरैले जिव्रो छेडाइसकेका छन् । तर हालसम्म १३ जनाको नामावली मात्रै छ । पछिल्लो विवरण अनुसार हर्कनरसिंह वाग श्रेष्ठले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले एक, हरिभासिक श्रेष्ठले तीन, इन्द्र बाटा श्रेष्ठले दुई, हर्केश्वर व्याँं श्रेष्ठले तीन, चन्द्रसेन घो श्रेष्ठले सात, दिलकुमार खपे श्रेष्ठले सात, मुनि घो श्रेष्ठले एक, धर्मराज बलाम श्रेष्ठले एक, कृष्णचन्द्र बाग श्रेष्ठले १२, बुद्धकृष्ण बाग श्रेष्ठले ९, जुजुभाइ वाग श्रेष्ठले आठ र सुजन बाग श्रेष्ठले तीन पटक जिव्रो छेडाइसकेका जनाइएको छ । 
बोडेको जिव्रो छेडाउने जात्रा लिच्छविकालदेखि चलिआएको मान्यता छ । किंबदन्ती अनुसार प्राचिनकालमा बोडेको निलबाराही दायाँंवायाँं बस्ने भूत पिसाचले बोडेबासीलाई दुख दिन्थे । जनतालाई दुःख दिन नछाडेपछि तन्त्रमन्त्रले ती पिसाचलाई आफ्नो बसमा पारेको विश्वास छ । त्यसपछि जनताले कसैले कपाल काटिदिए त कसैले जिव्रोमा सियो घुसाइदिए । अनेक दुःखपछि वेदना सहन नसकेर पिसाचले कष्टबाट मुक्त गरे आफूले जुनसुकै काम पनि पूरा गरिदिने बचन दिए । त्यसपछि सात वर्षसम्म जिव्रो छेड्नुपर्ने, कुनै पनि महामारी, अनिष्ट, अनिकाल, अनावृष्टि, अतिबृष्टि हुन नदिन वाचा गराइएको किंम्वदन्ती रहेको स्थानीयहरु बताउँंछन् । वाचाअनुसार सात वर्षसम्म पिसाचले जिव्रो छेडे । पछि जात्रालाई निरन्तरता दिन वोडेकै कोही व्यक्तिको जिव्रो छेड्न लगाइयो र हालसम्म यो परम्परा चालू नै छ ।

Comments