जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु साझा दायित्व ः राष्ट्रपति पौडेल
भक्तपुर, १ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिदैं नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु पर्ने बताउनु भएको छ ।
आज नगरकोटको बतासे डाँडामा आयोजना गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को शुभारम्भ गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण नेपाली जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नु हामी सबैको साझा दायित्व भएको बताउनु भएको हो ।
‘पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हो । आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्नु राज्यको प्राथमिक दायित्व हो । रोजगारीका अवसर सिर्जना, लगानीयोग्य वातावरण निर्माण, उत्पादनको लागत घटाएर प्रतिस्पर्धा प्रवर्धन गरी औधोगिकरणलाई बढावा दिनु पनि उत्तिकै जरुरी छ’ राष्ट्रपति पौडेलले भन्नभयो, ‘न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिदैं नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नु हामी सबैको साझा दायित्व हो ।’
राष्ट्रपति पौडेलले सांस्कृतिक, ऐतिहासिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रुपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने औल्याउँदै यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति, सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारकोरूपमा स्थापित गर्न सकिने प्रचुर संभावना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पर्यटकीय उपजहरूको व्यवसायीकरण गरी यसबाट प्राप्त लाभको समन्यायिक वितरण सुनिश्चित गर्न आवश्यक छ । पर्यटकीय वस्तुको विकास, बजारीकरण र सहज पहुँचको व्यवस्था गरी नेपाललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्दछ ।’
राष्ट्रपति पौडेलले काठमाडौँको उकुसुमुकसबाट उम्केर प्रकृतिमय क्षण व्यतित गर्ने उत्कट चाहना राख्नेहरूका लागि नगरकोट नजिकको रोजाइस्थल भएको बताउदै यो संस्कृति, प्रकृति, इतिहास र भौगोलिक आकर्षणका लागि पनि गौरव र शान भएको उल्लेख गर्दै जसले देश विदेशमा चिनाउन र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न योगदान दिएको पनि बताउनुभयो ।
‘यसलाई अझै विकसित, आधुनिक र सुविधासम्पन्न बनाउन स्थानीय वासिन्दा, उद्यमी, पयर्यटनव्यवसायीसहित संघ, प्रदेश सरकार र विशेषत यहाँका चारैवटा नगरपालिकाको सहकार्य बढी अपेक्षित रहेको मैले ठानेको छु’, उहाँले भन्नुभयो ।
राष्ट्रपति पौडेलले उत्तरतर्फका सुन्दर हिमश्रृङखला, सूर्योदय र सूर्यास्त एवम् सुन्दर काठमाडौँ उपत्यका अवलोकनको लागि स्वदेशी विदेशी पर्यटकबीच नगरकोटको महिमा अधिक रहेको उल्लेख गर्दै यसको निकटमा अवस्थित् विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर, पौराणिक प्रसङ्ग जोडिएको महादेव पोखरी, मन्जुश्री गुफा, ऐतिहासिक भंगेरी र पुतली दरवार, शंखरापुर नगरपालिकाको प्रसिद्ध शालीनदी तथा बज्रयोगिनी माईको मन्दिर एवं साँखु बजारको ऐतिहासिक, पुरातात्विक सम्पदासँगै यसलाई केन्द्रमा राखेर विस्तार हुँदै गएको पदयात्रा मार्गले यहाँको पर्यटकीय गतिविधिलाई बढाएको पनि उहाँले बताउनुभयो ।
राष्ट्रपति पौडेलले नगरकोटलाई मूलविन्दु बनाएर चारवटै नगरपालिकाले आ–आफ्नो क्षेत्रका सम्पदा एवम् ऐतिहासिकस्थलको प्रवद्र्धन गर्न अगाडि बढ्नु प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले पर्यटन पूर्वाधारको विस्तार र सहज आवागमनको लागि सडकको स्तरोन्नति गर्नेतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले नगरकोट भ्रमण वर्ष घोषणा विकासको प्रमुख आधारशीला पर्यटन क्षेत्रले यसबाट लाभ लिएर मुलुकको आर्थिक समृद्धिमा योगदान दिने विश्वास पनि व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेलले नयाँ वर्ष २०८२ को अवसरमा जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित राष्ट्र निर्माणको अभियानमाा जुट्न यो दिनले हामी सबैलाई प्रेरणा देओस् भन्ने कामना पनि गर्नुभयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्री पाण्डेले नगरकोटको ऐतिहासिक, सम्पदा, पर्यटकीय स्थललगायतको महत्व अधिक रहेको चर्चा गर्दै नगरकोट भ्रमण वर्षले नगरकोटसंग जोडिएरका चार पालिकसंगै धुलिखेल, पनौती, नमोबुद्ध, शिवपुरी, चन्द्रागिरीसम्म पनि पर्यटनको विकास हुने बताउनुभयो ।
उहाँले महाभूकम्प र कोेरोना महामारीपछि थला परेको पर्यटन क्षेत्रको विकास अगाडि बढेको चर्चा गर्दै तीन तहलाई चलायमान बनाउदै आर्थिक बृद्धिदर निजी क्षेत्रमा लगानी मैत्री वनाउन तीन तहकै सरकार अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवं पूर्व सञ्चारमन्त्री गोकूल बास्कोटाले सरकारले देश निर्माण गर्न लागिरहेको बताउदै नगरकोट हिमाल, सूर्योदय, सूर्यास्त हेर्न मत्रै नभई स्काई पर्यटन र काभ्रेमा जल पर्यटन सुरु गर्न लागेको बताउनुभयो ।
उहाँले कथित राजाको नाममा भएका आन्दोलनमा पत्रकारको ज्यान गएको बताउदै फेरी राजतन्त्र ब्युझाउने सपना नदेख्न र च्याप्टर क्लोज भइसकेको तानाशाह व्युझाउने सपना नदेख्न आग्रह गर्नुभयो । कार्यक्रममा वागमति प्रदेशका संकृति, पर्यटन मन्त्री विमल ठकुरीले नगरकोटमा पयटक भित्रयाउन यो कार्यक्रम कोशेढुङ्गा सावित हुने बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोटलाई केन्द्रविन्दु बनाएर सुरु भएको भ्रमण वर्षले नगरकाटको मात्रै नभई देशभरकै आर्थिक विकासलाई चलायमान बनाउने बताउनुभयो । उहाँले नगरकोटलाई सरकारले पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबा, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले चाँगुनारायण, मण्डन देउपुर, बनेपा र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको भ्रमण वर्षले यहाँको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो ।–––