नगरकोट भ्रमण वर्ष–२०८२ को उदघाटन समारोह तीन दिन हुने
नगरकोट । पर्यटकीय क्षेत्र नगरकोटमा आउँदो २०८२ साल वैशाख १ गतेदेखि नगरकोटलाई मुख्य पर्यटकीय विन्दु बनाएर ’नगरकोट भ्रमण वर्ष–२०८२’ एक वर्षसम्म भव्य रुपमा मनाउने जमर्को गरिएको छ ।
यो भ्रमण वर्षको आयोजकको रुपमा चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिका रहेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइयो । नगरकोट भ्रमण वर्ष २०८२ को राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा २०८२ साल वैशाख १ गते समुद्घाटन हुनेछ ।
उदघाटन समारोह वैशाख २ र ३ गते पनि चल्ने छ । नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा भ्रमण वर्ष हुन लागेको हो । यो कार्यक्रमको प्रबद्र्धकमा बागमती प्रदेश सरकार र पर्यटन बोर्ड रहेको छ ।
भ्रमण वर्ष सफल पार्न मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबाको संयोजत्यमा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्य, शंखरापुर नगरपालालिका नगरप्रमुख रमेश नापित, मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपाल, चांगुनारायण नगरपालिका उपप्रमुख रमेश बुढाथोकी, बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहाल र शंखरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ तया चार वटै नगरपालिका प्रमुख प्रशाकीय अधिकृतहरु, नगरकोटसंग जोडिएका वर्तमान वडाध्यक्षहरु, नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष सहित पदाधिकारी, वर्तमान जनप्रनिनिधि, पूर्व जनप्रतिनिधि, स्थानीय सामाजिक संघ संस्था समेत गरी १ हजार १ सय १ सदस्यीय संयुक्त मुल आयोजक समिति गठन गरिएको छ । साथै विभिन्न नौ वटा उपसमितिहरु गठन गरिएका छन् ।
चार बटा नगरपालिकाभित्र विभिन्न महत्वपूर्ण मठमन्दिर लगायत अन्य विविध धार्मिक पौराणिक, आध्यात्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रहरु चिनारीको रुपमा रहेका छन् । चारवटै नगरपालिका क्षेत्रभित्र पर्ने प्राकृतिक वन जंगलले घेरिएको पर्यटकीयस्थल नगरकोटमा पर्यावरणीय मनोरम दृष्यावलोकन, हिमाली दृश्यहरु, सूर्योदय र सूर्यास्तका मनोरम दृष्यावलोकनका लागि आन्तरिक एवं विदेशी पर्यटकका आगमन हुने गरेको छ ।
नगरकोट इज मोर डेन सनराइज... भन्ने मुल नाराका सुरु हुने ’नगरकोट भ्रमण वर्ष २०८२’ को सम्पूर्ण तयारी पुरा भएको जानकारी गराइएको छ । नेपाल सरकारले यसै भ्रमण वर्ष २०८२ भित्रै नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सम्बन्धित निकायको ध्यानाकपर्ण गराउने समेत मुख्य लक्ष्य राखिएको छ ।
नगरकोटसंगै यी ४ वटा नगरपालिकाको पर्यटन, कृषि पर्यटनलगायत यहांका विभिन्न जातजाति, भेषभूषा, जात्रा, पर्व र सांस्कृतिक पहिचान गरि यसको उजागर गर्दै गाउँगाउँमा रहेका होम स्ट्रेको विस्तार गर्ने, पर्यटकको बसाई सम्ब्याउने गरी भ्रमण वर्ष मनाउन लागिएको हो । यो भ्रमण वर्षभर कम्तीमा एकलाख अन्तर्राष्ट्रिय र १० लाख आन्तरिक पर्यटक भित्रयाउने लक्ष्य लिएको छ ।
नयाँवर्ष २०८२ सालको वैशाख १ गते बतासे डाँडा (वगरकोट सनराइज भ्यू पार्क) या भव्य समारोहकाचीच भ्रमण वर्षको शुभारम्भ हुनेछ । वैशाख २ गते चर्चित लोक दोहोरी साँस्कृतिक समूह इन्द्रेणीले आफ्नो सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछ । वैशाख ३ गते प्रसिद्ध गायक प्रकाश सपुतसहितको स्थानीय कलाकारहरुले सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछन् ।
भ्रमणको शुभारम्भका दिन ५० भन्दा बढी स्टलहरु रहनेछन् । फुड स्टल तथा स्थानीय कृषि सामग्री, गुरुङ समुदायको संग्राहलय, प्रत्येक पालिकाका छुट्टा छुट्टै झाँकी प्रदर्शनी गरिनेछ । चारवटै पालिकाभित्र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका १०० जना कलाकारले नगरकोट वरपरका सम्पदा भ्रमण गराई उक्त सम्पदाको चित्र क्यानभासमा कोरिने र प्रदर्शनी गरिने छ । साथै कला संग्रहालयका स्थापना गरिनेछ ।
भ्रमण वर्ष सफल पार्न आवश्यक खर्च चार बटै नगरपालिका र नगरकोट क्षेत्रको पर्यटन व्यवसायीहरु समेतको साझेदारी रहनेछ । भ्रमण वर्षभर चार वटै पालिकामा पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछ ।
पुसमा अंग्रेजी नयाँ वर्ष सन् २०२५ को विदाई र २०२६ को सूर्योदयका अवसरमा चारवटै पालिकाको सहभागितामा नगरकोमा सांगीतिक कार्यक्रम आयोजना गरिनेछ । नगरकोट भ्रमण वर्ष २०८२ को अन्तिम महिना अर्थात चैत महिनामा राष्ट्रिय सहकारी दिवसलाई विशेष एवं सिर्जनात्मक रुपमा विविध कार्यक्रमको आयोजना गरिनेछ । नगरकोट भ्रमण वर्ष २०८२ स्मारिका प्रकाशन गरिनेछ ।
चारवटै पालिकाबाट नगरकोट आवतजावतका लागि मुख्य लामो समयदेखि निर्माणमा ढिलासुस्ती रहेको अवस्थामा हाल चांगुनारायण नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट कालोपत्रेको प्रक्रिया सुरु गरेको छ । साथै विभिन्न वैकल्पिक सडकहरुको स्तरोननती गरिएको छ ।
चारवटै पालिकाहरुबाट नगरकोट आउने पदमार्गहरुसमेत रहेकाले पर्यटकहरु पदमार्गको प्रयोग गरेर पर्यटकीय आनन्द लिन सकिनेछ । नगरकोट भ्रमण वर्षले चाँगुनारायण, काठमाडौंको शंखरापुर, काभ्रेपलाञ्चोकको मण्डन देउपुर र बनेपा नगरपालिकाको सम्वृद्धिको यात्रालाई जोडेर लैजान सफल हने विश्वास लिइएको छ ।
नगरकोट भ्रमण वर्षलाई लक्षित गरी नगरकोटमा आन्तरिक पर्यटकलाई अझै सुविधा दिने गरी नगरकोटबाट काठमाडौंसम्म सिधा बस सेवा सञ्चालन गरेको छ । होटल व्यवसायीहरुले नयाँ वर्षको १, २ र ३ गते १५ प्रतिशत र भ्रमण वर्ष अवधीभर नगरकोट आउने पर्यटकको बसाईमा १० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
कार्यक्रममा चाँंगुका नगर प्रमुख जीवन खत्री, बनेपाका नगर प्रमुख शान्तिरत्म शाष्य, मण्डनदेउपुर नगरपालिका तथा संयोजक नगरकोट भ्रमण वर्ष २०८२, मुल आयोजक समितिका टोकबहादुर बाइवा सहभागी थिए । शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित भने उपस्थिति थिएन ।