अन्तरक्रिया कार्यक्रम सम्पन्न
जनसम्बन्ध विस्तार अभियानको शीलशीलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति बाँकेको आयोजनामा “मिटरव्याज, सहकारी ,वित्तिय संस्था तथा बैंक पीडितको न्यायको प्रश्न ”विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्ज उद्योग वाणिज्यसंघको सभाहलमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा टोली नेता कृष्णराज पौडेलले कम्युनिस्ट पार्टीका सदस्यहरु अनुशासित हुनु पर्दछ । नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा पुग्नका लागि अनुशासित कार्यकर्ताहरुको जमात भएर मात्रै हामी उद्देश्यमा पुग्न सक्छौं भन्नुभयो । पार्टीका पोलिटव्यूरो सदस्य चक्रपाणि शर्माले समाजका उत्पीडित किसान मजदुरहरुलाई वर्तमान व्यवस्थाले न्याय दिन नसक्ने हुँदा व्यवस्था पविर्तनको आन्दोलनमा जोड दिनु भयो । उक्त कार्यक्रममा पार्टीका पिविएम तथा ३ नं व्यूरो इञ्चार्ज लालबहादुर जाग्रीले कार्यपत्र पेश गर्नु भएको थियो । जाग्रीले भन्नु भयो “सहकारी पीडित लघुवित्त पीडितहरुका मुद्दालाई जिल्ला प्रशासन वा अदालतले गरेका फैसला वास्तविक पीडितहरुका पक्षमा भए की भएनन् ? वास्तविक पीडितका समस्याहरु के छन् ? र तिनीहरुले कसरी न्याय प्राप्त गर्न सक्छन् ? भन्ने बारेमा छलफल गर्न यो कार्यक्रमको आयोजना गरिएको हो” भन्नुभयो । अभियान टोली सदस्य शेरबहादुर देउवा दलाल पुजिपतिहरुले जनतालाई उठिवास बनाएको हुँदा पार्टीले यसको समयमै हिसाव लिने कुरामा बताउनु भयो । कार्यक्रम पार्टीका बाँके जिल्ला सेक्रेटरी गुणनीधि आचार्यको अध्यक्षता र सञ्चालन प्रकाश भण्डारीले गर्नुु भएको थियो ।