भक्तपुर महोत्सवको मुख्य उद्देश्य आन्तरिक पर्यटक प्रवद्र्धन गर्नु


2025-03-21 09:55:31

News Image

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म सम्पन्न भक्तपुर महोत्सव २०८१ मूल समारोह समितिलाई धन्यवादज्ञापन कार्यक्रम आज सम्पन्न भयो ।
    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सव जनताको परम्परागत सीप र कौशल प्रदर्शन गर्ने अवसरको रुपमा सञ्चालन गरिएको बताउँदै महोत्सव भव्य, सभ्य र सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवादज्ञापन गर्नुभयो ।
    महोत्सव अवधिभर सिंगो नगरलाई क्रियाशील बनाउने प्रयत्न गरेको बताउँदै उहाँले भक्तपुर महोत्सवको मुख्य उद्देश्य आन्तरिक पर्यटक प्रवद्र्धन गर्नु हो भन्नुभयो ।
    उहाँले महोत्सवमा सबैको साथ र सहयोग पाएको स्मरण गर्दै भक्तपुर महोत्सवबाट अनुशरण गर्दै अन्य नगरपालिकाले पनि महोत्सव आयोजना गरेको बताउनुभयो ।
    उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवमा बालबालिका, युवा, विद्यार्थी, ज्येष्ठ नागरिकलगायत सबै उमेर समूहकाहरुको उत्साहजनक सहभागिता रहेको बताउँदै महोत्सवले  नयाँ पुस्तालाई भक्तपुरको विशेषता प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।
    भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले भक्तपुर महोत्सव पृथक ढंगले सञ्चालन भएको बताउँदै महोत्सव अवलोकनको लागि देश विदेशका विशिष्ट व्यक्तित्वहरुले समेत अवलोकन गर्नु अर्को ठूलो उपलब्धी रहेको बताउनुभयो ।
    भक्तपुरका जिल्ला न्यायधिवक्ता श्यामप्रसाद दाहालले भक्तपुर महोत्सवमा अन्य ठाउँहरुमा भएको महोत्सवमा नदेखिएका प्रदर्शनी अवलोकन गर्ने अवसर मिलेको बताउँदै भक्तपुर महोत्सव जनताको महोत्सवको रुपमा सम्पन्न भएको छ भन्नुभयो ।
    उक्त कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई र भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो भने भक्तपुर महोत्सव सचिवालय संयोजक गौतमप्रसाद लासिवाले भक्तपुर महोत्सव २०८१ को प्रतिवेदनमा समेटिएका विषयवस्तुलाई सारमा प्रस्तुत गर्नुभयो ।
    कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर महोत्सव मूल समारोह समितिका सदस्यहरुलाई धन्यवादपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *