मिस नेवाःले हाकुपटासी लगाएकोमा वडाअध्यक्षदेखि सांसद्सम्मको प्रशंसा
फाल्गुन २७, २०८१, मङ्गलबार | विहान १०:३३ बजे | 120
मिस नेवाः– ११४५ उपाधिका विजेतासहित प्रतिस्पर्धीहरुले नेवाः समुदायको पहिचान झल्काउने पोशाक हाकुपटासी लगाउनेलाई बढावा दिँदै आएका छन्। सोमबार ललितपुर महानगरपालिका– १६ ले मिस नेवाः – ११४५ उपाधिका विजेता प्रलिशा शाक्यको सम्मानमा आयोजना गरेको समारोहमा शाक्य सहित उनका प्रतिस्पर्धीहरु २० जना युवती नयाँ डिजाईनका हाकु पटासी लगाएर आएका थिए। सार्वजनिक समारोहमा आउँदा हाकु पटासी लगाएको यो पहिलो पटक भने होइन।मिस नेवाःलाई बधाई तथा शुभकामना दिन, विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिँदा मिस नेवाः शाक्य सहित फस्ट रनरअप, दोस्रो रनरअप लगायत उपाधिका विजेताहरु हाकुपटासीमा सज्जिएको पाइएको छ । मिस नेवाःले नेपाल भाषा,संस्कृतिसंगै मौलिक पोशाकलाई प्रवद्र्धन गरेकोमा प्रशंसा गर्दै वडाअध्यक्ष निर्मलरत्न शाक्यले भने ‘ नेपाल भाषा, संस्कृति र यसको मौलिकता जर्गेना गर्न मिस नेवाःले युवापुस्तामा जागरण ल्याउनुपर्दछ । ’ स्वदेशी मौलिक हस्तकलाका उत्पादनलाई बढावा दिने, नेवाः समुदायसंगै नेपालको संस्कृति, विशेषतामाथि गौरव गर्ने कार्यलाई प्रवद्र्धन गर्ने भएकोले मिस नेवाःको आयोजना गर्न वडाले सहयोगी भूमिका निर्वाह गरेको वडाअध्यक्ष शाक्यको भनाई रहेको छ । सो समारोहमा ललितपुर क्षेत्र नं २ का संघीय सांसद् प्रेमबहादुर महर्जन, वाग्मती प्रदेशका सांसद् रामकृष्ण चित्रकार लगायतले मिस नेवाःको माध्यमबाट किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्न सकेकोमा सराहना व्यक्त गरेका थिए। हाकुपटासी मात्र नभई त्यसकै झझल्को दिने कालो र रातो रड्डको समायोजन गरी अनेक डिजाइनमा निकालिएको कुर्ता सलवार, लेंगाहरुको प्रयोग गर्नेहरुको संख्या अहिले बढ्दै गएको छ । त्यससंगै ढाकाका पछौंरी, चोलो, छिपा सारी लगायत सारीहरु लगाउने क्रम बढीरहेको पाइएको छ । ‘ यी लुगाहरुमध्ये सहज सुन्दरता र औपचारिक सभा, समारोह लगाउँदा उपयुक्त हुने हिसाबले मिस नेवाःका प्रतिस्पर्धीहरुले हाकुपटासी लगाउने गरेका छन् ।’ विगत १८ वर्षदेखि मिस नेवाः प्रतियोगिता सञ्चालन गर्दै आएको नेप्लिज फेसन होमका अध्यक्ष हेमा मानन्धरले भनिन् । त्यस्ता पोशाकले मौलिकता झल्काउनेसंगै त्यसको उत्पादन, बिक्रीवितरणमा टेवा पु¥याउने पनि उनको भनाई रहेको छ । नेपालमै बन्ने हाकुपटासी, ढाकाका कपडाहरुको माग राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा रहेको पनि मानन्धरले बताईन्।