बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
भक्तपुर ः लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ जीको मुख्य आयोजना तथा भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा आइतबार बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरको सहआयोजकहरुमा लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ जीअन्तर्गतका विभिन्न क्लबहरु रहेका छन् । भक्तपुर हार्ट एण्ड डायबिटिज सेन्टर, लायन्स क्लब अफ भक्तपुर डाक्टर्स, लायन्स क्लब अफ भक्तपुर फार्मासिस्ट्स, लायन्स क्लब अफ भक्तपुर हार्ट एण्ड डायबिटिज सेन्टरको प्राविधिक सहयोग शिविर सञ्चालन गरिएको हो । भक्तपुर नगरपालिकाको खौमास्थित जेसिस सेकेन्डरी स्कुलको प्रांगणमा भएको शिविरमा करिब ३०० जना जनाले स्वास्थ्य परीक्षण गराएको आयोजक संस्थाले जनाएको छ ।
शिविरबाट स्थानीयवासी, विद्यार्थी, अभिभावकहरु लाभान्वित भएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकहरुबाट मधुमेह तथा रक्तचाप परीक्षण, मुटु रोग, आँखा रोग, हाडजोर्नी, बाल रोग दन्त तथा आँखा लगायतका परीक्षण गरिएको थियो । शिविरमा ईसीजी, भिडियो एक्सरे लगायत सेवा उपलब्ध हुनुका साथै आवश्यकताअनुसार बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको छ । शिविरमा आँखा जाँच गराई चस्मा आवश्यक हुनेहरुको लागि छुट्टै कार्यक्रमको आयोजना गरी चस्मा वितरण गरिने लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ जीका डिस्ट्रिक क्याबिनेट सेक्रेटरी एवं भक्तपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रुकेश रञ्जितले बताए ।
यसैबीच, लायन्स इन्टरनेसनलका पास्ट इन्टरनेसनल प्रिसिडेन्ट जे. फ्रयाङ्क मूरले शिविरको अवलोकन गरेका छन् । सो अवसरमा लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ जीले जेसिस सेकेन्डरी स्कुललाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।