विनायकमा परम्परागत भेषभुषा प्रतियोगिता
मध्यपुर ठिमी, भक्तपुर
हाम्रो संस्कृति : हाम्रो गौरव ,हाम्रो पहिचान नेपालीको शान भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कलिला मन र मस्तिष्कमा आफ्नो परम्परागत भेषभूषाबारे हरेक वर्ष जानकारी दिँदै आएको शिक्षा, सभ्यता र संस्कृतिको त्रिवेणी विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमी, भक्तपुरमा यही २०८१ फागुन १७ गते परम्परागत भेषभुषा तथा प्रतिभा प्रदर्शन कार्यक्रमको आयोजना गरियो। विद्यार्थीहरुलाई कलिलो उमेरदेखि नै आफ्नो भाषा संस्कृति परम्परा बारे प्रयोगात्मक हिसाबले ज्ञान दिने उद्देश्यले आयोजित उक्त कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको अध्यक्षतामा भएको थियो। पूर्व प्रा वि तहका शिक्षिकाहरूको संयोजनमा तथा पूर्व प्रा वि तहकी एकेडेमिक कोर्डिनेटर पदमकेसरी श्रेष्ठद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा कक्षा नर्सरी र केजीका मात्र विद्यार्थीहरूको सहभागिता र प्रतिस्पर्धा रहेको थियो। कार्यक्रमको प काठमाडौँ विश्वविद्यालयकी शिक्षाविद तथा शोधकर्ता नारायणी ठकुरीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो। विनायकको पूर्व प्रा वि तहमा अध्ययनरत विद्यार्थीहरुका शतप्रतिशत अभिभावकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा अतिथिहरू मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ कि वडा सदस्य अरुणा कारणजीत, अभिभावक सुसन प्रजापति ,शिक्षाविद मदन रिजाल तथा किरण थापा श्रेष्ठ, नेपाल अस्ट्रेलिया फ्रेन्डसिप एसोसिएसनका सदस्य अस्ट्रेलियन नागरिक रश, चाइनिज भोलेन्टियर र विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले विद्यालयको छत्तीसौँ वार्षिकोत्सव तथा कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै विद्यालयले हरेक वर्ष गर्दै आएको उदाहरणीय एवं मननयोग्य कार्यको प्रशंसा गर्नुभयो। कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले वास्तविक, प्रयोगात्मक र एक्काइसौं शताब्दीको प्रगतिशील सोचको रुपान्तरित शिक्षा विद्यालयले प्रदान गरिरहेको र विद्यार्थीको सर्वाङ्गीण विकास गर्न पढाइका साथसाथै खेलकुद र अन्य अतिरिक्त एवं विषयगत क्रियाकलापमा विद्यालयले जोड दिँदै अब्बल, सक्षम र दक्ष नागरिक उत्पादनमा पहल गरिरहेको बताउनुभयो कार्यक्रममा उत्कृष्ट प्रतिभा प्रदर्शन गर्ने विद्यार्थीहरुलाई प्रमुख अतिथि तथा अन्य अतिथिहरुले ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने विद्यार्थीहरूले मनमोहक किसिमले विभिन्न गीत, संगीत , नृत्य तथा कराते र जिम्न्यास्टिकका विभिन्न इभेन्टहरु समेत प्रस्तुत गरेका थिए।