विश्वशान्तिको लागि बुद्धशिक्षा आवश्यक : अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु फ्राखु विशाल धम्मशोभन महास्थवीर


फाल्गुन ११, २०८१, आइतबार | विहान ११:२० बजे | 55


विश्वशान्तिको लागि बुद्धशिक्षा आवश्यक : अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु फ्राखु विशाल धम्मशोभन महास्थवीर

केके मानन्धर
बौद्ध विद्वानद्वय रत्नसुन्दर शाक्य र ठाकुर कृष्ण उप्रेतीका दुईवटा पुस्तक संयुक्त रुपमा लोकार्पण गरिएको छ । स्रष्टा शाक्यले रचना गर्नुभएको बौद्धजगतका स्मरणीय व्यक्ति तथा उप्रेतीले अंग्रेजी भाषाबाट नेपालीमा अनुवाद गर्नुभएको व्यवहारिक विपश्यना ध्यान नामक पुस्तक लोकार्पण गरिएको हो । धापाखेल बौद्ध बिहारमा सम्पन्न भएको पाँचौं धम्म डिजिटल दिवसको सन्दर्भमा पुस्तक लोकार्पण  गरिएको हो ।
शाक्यले नेपालको लुम्बिनीमा जन्मिनुभएका सिद्धार्थ बुद्धको दर्शन, ध्यान, पञ्चशील तथा समग्रमा बुद्ध धर्म प्रचार गरेका विश्वभरका ३० जना विद्वानहरुको व्यक्तित्व उल्लेख गरी पुस्तक रचना गर्नुभएको छ । विक्रम संवत् २०४८ सालदेखि पुस्तक प्रकाशन सुरु गर्नुभएका स्रष्टा शाक्यले यसअघि ४४ वटा पुस्तक प्रकाशन गर्नुभएको छ । अर्का स्रष्टा उप्रेतीले सतिपट्ठान विपश्यनाचार्य अग्गमहापण्डित महासी सयादोले पाली भाषामा रचना गर्नुभएको पुस्तकलाई अंग्रेजीबाट नेपाली भाषामा अनुवाद गर्नुभएको छ । उहाँहरुको पुस्तकलाई अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु फ्राखु विशाल धम्मशोभन महास्थवीर, सचिव भिक्षु निग्रोध महास्थवीर, शासनधर धम्मचारिया भिक्षु ञाणाबुधस्थवीर, धम्म डिजिटलका अध्यक्ष भिक्षु जनक र ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा लोकर्पण गरिएको पुस्तकको अन्तरवस्तुमा टिप्पणी गर्दै भिक्षु ञाणाबुधस्थवीर र परियत्ति सधम्म कोविध लोचनतारा तुलाधरले समीक्षा गर्नुभएको थियो । कार्यक्रममा मुख्य अतिथिको रुपमा सहभागी हुनुभएका अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु फ्राखु विशाल धम्मशोभन महास्थवीरले पाली भामा लेखिएको बुद्ध धर्मको मुख्य ग्रन्थ त्रिपिटकले विश्व शान्तिको लागि सहयोग गरेको दाबी गर्नुभयो । कालान्तरमा त्रिपिटकलाई विभिन्न भाषामा अनुवाद गरिएको जानकारी दिंदै उहाँले मुख्य ग्रन्थबाट साभार गर्नसके वास्तविक धर्म, दर्शन, सिद्धान्त प्रचार हुने बताउनुभयो । बुद्ध शिक्षा व्यवहारिक भएको हुनाले पछिल्लो समय विश्वभर प्रचार भएको उहाँको दाबी छ । अहिलेको अवस्थामा बुद्ध शिक्षा अपरिहार्य रहेको जनाउँदै विश्वका विभिन्न देशमा भइरहेको युद्ध अन्त्य गर्न बुद्ध शिक्षाले सहयोग गर्ने उहाँको आसय रहेको छ । कार्यक्रममा बुद्ध सम्बन्धिका विभिन्न पुस्तक र ग्रन्थलाई डिजिटलाइजेसन गरिरहेको जानकारी दिंदै धम्म क्वीज एप्लिकेसन शुभारम्भ गरिएको थियो ।

Comments