कला तथा साहित्यका मुर्धन्य साधक हेम पौडेलको प्रथम स्मृति दिवस सम्पन्न
माघ २१, २०८१, सोमबार | विहान ०२:४५ बजे | 145
जयराम बिडारी
माघ, काठमाण्डौ कवि तथा कलाकार हेम पौडेलको प्रथम स्मृति दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको संयुक्त आयोजनामा चित्रकला प्रदर्शनी,पुस्तक विमोचन तथा पुरस्कार वितरणको कार्यक्रम गरेर मनाइयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालको सभाहलमा आयोजित गरिएको उक्त कार्यक्रमको सभापतित्व प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छालीको सभापतित्व र नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा हेम पौडेलकी जिवनसाथी तथा प्रशिद्ध बालसाहित्यकार गङ्गा पौडेल कर्माचार्य एवं सयौंका सङ्ख्यामा उपस्थित साहित्यिक क्षेत्रका प्रवुद्ध व्यक्तित्वहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममका प्रमुख अतिथिका रुपमा सम्वोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कवि तथा कलाकारका रुपमा प्रशिद्धि कमाएका हेम पौडेल एक दुरदर्शी कलाकार रहेको बताए । उनले चरालाई बिम्ब बनाएर कलाको सृजना गर्नु भनेको वातावरणीय सन्तुलनमा जीव जन्तु किटपतङ्ग आदीको प्रमुख भूमिका रहेको सत्यलाई उजागर गर्नु रहेको बताउँदै कवि तथा कलाकार पौडेल जनमनमा युगौं बाँचिरहने विचार व्यक्त गरेका छन् । ललितकला प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले स्वर्गीय हेम पौडेलको कृतित्व र व्यक्तित्वका बारे प्रकाश पार्दै प्रथम स्मृति दिवसका अवसरमा चित्रकला र कविता प्रतियोगिता एकसाथ गराएर नयाँ पुस्तासँग सम्बन्ध सेतु स्थापित गर्ने रुपमा विकसित रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको संयुक्त रुपमा आयोजित कार्यक्रम रहेर पनि समग्र कार्यक्रमलाई प्रतिबिम्बित पार्ने गरी कतिपय विषयवस्तुलाई समेट्ने गरि बुकलेट तैयार पार्न केही कठिनाई परेकोमा थक्कथक्क लागेको भएपनि चित्रकला प्रदर्शनीको समय केही बाँकी नै रहेको हुनाले केही व्यवस्थित गर्न पुरै समय घर्किनसकेको हुनाले पनि सो को व्यवस्थापन गर्न सकिने बताए । स्वागत मन्तव्यका क्रममा सञ्जय बान्तवा राईले एउटा सर्जक जैविक रुपमा विलिन हुन सक्छ तर प्रकृति सँगको सामिप्यता,सिर्जनामा मौलिक शिल्पगत विशेषता रहेका, सृजना शक्तिले अमरत्व प्राप्त गर्ने हैसियत पनि सर्जक स्वयंले निर्माण गर्ने ल्याकत राख्ने विचार व्यक्त गर्दै साहित्यिक कलाकारका रुपमा हेम पौडेल सदैव जिवित रहने वताए । कार्यक्रममा कलाकार हेम पौड्यालको जीवनसाथी तथा बालसाहित्यकारका रुपमा प्रशिद्ध सर्जक गङ्गा कर्माचार्य पौडेलद्वारा आफ्ना दिवङ्गत श्रीमानको स्मृति सभामा उपस्थित भईदिनु हुने प्रमुख अतिथि,अतिथि लगायत आफन्त, इष्टमित्र, नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै हेम पौडेलको कतिपय चित्रकलालाई संरक्षण गर्न नसकेकोमा दुखेसो व्यक्त गरिएको थियो । साथै प्रतियोगितामा भाग लिनेहरुप्रति धन्यवाद र निर्णायकहरु आभार व्यक्त गर्दै हेममा समर्पित ‘पुनर्जन्म भएपनि हजुर नै पति पाउँ शीर्षकीय कविता वाचन गर्दा सभाहल नै भावुक भएको थियो । कार्यक्रममा २३ जना कविहरुले सहभागिता जनाएको कविता प्रतियोगितामा क्रमशः तृतीय र द्वितीय स्थान हासिल गरेका सुन्दर ‘शिरीष’ तथा अनिता ढकालले आ-आफ्ना रचना वाचन गरेका थिए भने देश बाहिर रहेका प्रथम स्थान हासिल गर्ने अनाम ‘उपेक्षित’ को कविता वरिष्ठ कवि ललिता दोषीद्वारा सुन्दर रुपमा वाचन गरिएको थियो । यसैक्रममा अन्तरविद्यालय स्तरीय चित्रकला प्रतियोगितामा क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने करिना बस्नेत, चिराग राई तथा शीतल महर्जनलाई समेत पुरस्कृत गरिएको थियो । सो अवसरमा हेम पौडेलका कविता र बहुआयामिक व्यक्तित्व कृतिको समेत लोकार्पण गरिएको थियो । कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक पत्रिका का प्रवन्ध सम्पादक, तथा प्रकाशक निबन्ध आचार्यद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रम भव्य एवं सभ्य रुपमा सम्पन्न गरिएको थियो ।